रसुवागढी नाकाबाट सामान आउन थाल्यो
काठमाडौं । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको बताइएको छ ।
कोभिड संक्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल दैनिक २१ वटासम्म कन्टेनर आउन थालेको जनाइएको छ ।
सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको संख्यामा पुग्ने गरेका छन । कोभिड–१९ को संक्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुरयाइ छाड्ने गरेका छन् ।
चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्टसमेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ ।
चीनमा कोभिड संक्रमणपश्चात बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरू भएको छ, नौ र १४ हुँदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान पुरयाउने गरेका छन् ।
गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा एक सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान पुरयाइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।
हालसम्म आयात भएका सामग्रीमा एक सय १९ टिपर तयारी पोशाक, ३५ टिपर नेपालमा सञ्चालित जलविद्युतका उपकरण र चार टिपर ओखर रहेको बताइएको छ ।
कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायीहरूले बताए।
रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताएका छन ।
वि.सं.२०७९ असोज १० ०७:२०




















