मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगे
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ ।
भन्सार विभागले कार्तिक १३ गते सार्वजनिक गरेको गत २०७९ असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु.तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर पुगेकाे छ ।
सो अवधिमा देशको कूल व्यापार रु. चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात रु. ४१ अर्ब ८२ करोड बराबरको भएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा कूल व्यापार १८.५४ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षमा कूल रु. पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आर्थिक वर्षको तीन महिनामा मात्रै रु. चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको जनाएकाे छ ।
यस आधारमा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा १८.५४ प्रतिशतले ओरालो लागेको छ ।
गत आर्थिक वर्षमा रु. चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले कमी आई रु. चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको छ ।
यस्तै, गत आर्थिक वर्षको तीन महिनामा रु. ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आर्थिक वर्षको तीन महिनामा ३५.७१ ले ओरालो लागेर रु. ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएकाे छ ।
वि.सं.२०७९ असोज १५ १७:५५




















