back
stc
prabhu insurance

अग्नि नियन्त्रकहरुका लागि सडक सुरक्षा, सवारी दुर्घटना व्यवस्थापन तालिम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताउनुभएको छ ।

अग्नि नियन्त्रकका लागि आजबाट जुद्ध बारुण यन्त्र कार्यालय, नयाँ सडकमा सुरु भएको २ दिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सडक, यातायात र ट्राफिक व्यवस्थापनमा काम गर्ने कार्यालय, संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारका बारेमा पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ ।

जसलाई जे अधिकार हुनु पर्ने हो? त्यो अधिकार प्राप्त नहुनु, कसले के काम गरिरहेको छ, आपसमा थाहा नहुनुले नतिजा मापन गर्न सकिएको छैन । यसका लागि महानगरले सडक सुरक्षा परीक्षण योजना बनाएको हो । यसले तथ्यमा आधारित नीति निर्माणमा टेवा दिनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

विश्व बैङ्कले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहार्नु परेको छ । नेपाल दक्षिण एशियाली मुलुकहरुमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो ।

दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुने लगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनु पर्ने सूचक छ ।

तालिम कार्यक्रममा बोल्दै सडक सुरक्षा परिषदका सल्लाहकार सरोज प्रधानले, महानगरको सडक सुरक्षा परीक्षण योजनाबाट महत्वपूर्ण सूचना प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

‘गर्नै पर्ने र सडक सुरक्षाको वस्तुगत स्थितिको जानकारी दिने सेफ्टी अडिटका लागि परिषदबाट आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध हुनेछ ।’ प्रधानको भनाइ छ ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश छन् ।

तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन हुने श्रेष्ठको भनाइ छ ।

तालिमबाट प्राप्त पृष्ठपोषणबाट आमागी कार्यक्रम तर्जुमा गर्न सघाउ हुने रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले अपेक्षा गर्नुभयो ।

तालिम काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेका हुन् ।

यसका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सहयोग गरेका छन् ।

तालिममा काठमाडौँ उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक सहभागी हुनुहुन्छ । अग्नि नियन्त्रक नभएका पालिकाहरुबाट पर्यवेक्षक÷अवलोकनकर्ताका रुपमा सहभागी गराइएको छ ।

तालिममा ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिस, वेलायतबाट रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुहुनेछ ।