back
stc
prabhu insurance

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष चार अर्ब ६८ करोड रुपियाँ कर फिर्ता गरेको छ ।

काठमाडौँ । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष चार अर्ब ६८ करोड रुपियाँ कर फिर्ता गरेको छ । विभाग र सोअन्तर्गतका कार्यालयसमेतबाट उक्त रकम बराबरको कर फिर्ता गरिएको विभागले जनाएको छ ।

कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं विभिन्न कूटनीतिक एजेन्सीको जम्मा र लगातार क्रेडिटका आधारमा तथा निर्यातकर्ता करदातालाई समेत सो बराबरको कर फिर्ता भएको हो ।

विभागका अनुसार आव २०७८/७९ मा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं विभिन्न कूटनीतिक निकायले २८ करोड ५१ लाख रुपियाँ बराबरको चार सयवटा कर फिर्ता दाबी गरिएको थियो ।

विभागले त्यसमध्ये २३ करोड रुपियाँ कर फिर्ता गर्ने निर्णय गरेको जनाएको छ, जसमध्ये विभागले २५७ कूटनीतिक नियोग एवं कूटनीतिज्ञको जम्मा १० करोड ६० लाख दाबी रहेकामा आठ करोड ४० लाख रुपियाँ फिर्ता गर्ने निर्णय गर्ने जानकारी दिएको छ ।

त्यस्तै कूटनीतिक एजेन्सीको १२४ वटा दाबीबाट १७ करोड ४८ लाख रुपियाँ फिर्ता दाबी गरिएकामा १४ करोड ६० लाख रुपियाँ फिर्ता गर्ने निर्णय गरेको पनि विभागले जनाएको छ ।

यसबाहेक विभागले लगातार क्रेडिटका आधारमा तथा निकासीका आधारमा जम्मा ७०६ करदाताबाट एक अर्ब ८४ करोड रुपियाँ र त्यसअघिको आर्थिक वर्ष दाबी गरेको तर फिर्ता हुन नसकेको पाँच अर्ब ११ करोडसमेत गरी छ अर्ब ९६ करोड रुपियाँ फिर्ता माग दाबी गरिएकामा चार अर्ब ४५ करोड रुपियाँ फिर्ता गरेको छ ।

विभागका अनुसार गत आवमा कुल एक हजार १०६ वटा कर फिर्ता दाबी प्राप्त भएको थियो । कर फिर्ता दाबी रकमभन्दा फिर्ता दिइएको रकम कम हुनुमा दाबीकर्ताले रितपूर्वक बिलबीजक पेस नगरेकाले स्वीकृत हुन नसकेको जनाएको छ ।

विभागका अनुसार आव २०७७७८ मा चार अर्ब सात करोड रुपियाँ कर फिर्ता भएको थियो । त्यसअघि आव २०७६÷७७ मा तीन अर्ब ८० करोड रुपियाँ कर फिर्ता भएको थियो ।