back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफरको लाइसेन्स खारेज गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रालिको इजाजतपत्र रद्द गर्ने भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशन गरी नेशनल मनी ट्रान्सफरको इजाजतपत्र रद्द गर्ने जनाएको हो ।

काठमाडौं महानगरपालिका १३ कालीमाटीमा रहेको नेशनल मनी ट्रान्सफरले राष्ट्र बैंकबाट विप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गर्न निवेदन दिएको थियो ।
कम्पनीले दिएको निवेदन अनुसार नै राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्न लागेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक रामु पौडेलले बताए ।

विदेशी मुद्रा कारोवार बन्द गर्ने हुँदा कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र लिखित जानकारी नआएमा नेशनल मनी ट्रान्सफरको विप्रेषण सम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने कार्यकारी निर्देशक पौडेलले बताए ।