back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले १७ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १७ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ३ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ। भने, ३६४ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० पौष १० गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेको छ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।