‘वाई भ्यालेन्ट’ खोपलाई अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
अब नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज भएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४औँ बैठकले वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिनुभयो ।
नेपालमा फाइजरको नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसँग अनुमति मागेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । हाल उक्त खोप विश्वका ३२ देशमा बुस्टरका रूपमा प्रयोग भइसकेको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधि सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको हो, केसीले थप्नुभयो, “अब उक्त खोप नेपालमा ल्याएर प्रयोग गर्न सकिन्छ ।”
वि.सं.२०७९ पुस १५ ०७:३२




















