back
stc
prabhu insurance

शक्ति र पैसाका लागि होइन, काम गर्न मन्त्री बनेको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको जिकिर गरेका छन् ।

मेयरसिंह जौवारी प्रतिष्ठानले शनिबार आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवा भावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।

उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । ‘राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैङ्क खाता छ, अरू कुनै बैङ्क खातामा एक रुपैयाँ पनि छैन’, उनले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋण पान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए । ‘तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो’, उनले भने, ‘ऐन, नियम विपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु ।’

कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहेका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताए । उनले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गरे ।