back
stc
prabhu insurance

राजश्व छलीमा मुद्दा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जन विरुद्ध दायर

काठमाडौँ । ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जन विरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले राजश्व चुहावटको मुद्दा दायर गरेको छ ।

विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जन विरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबी सहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बीजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गर्ने गरेको र सो अनुसार सरकारलाई तिनुपर्ने कर नतिरी राजस्व चुहावट गरेको अभियोग विभागले लगाएको छ ।

राजश्व अनुसन्धान कार्यालय बुटवलले पनि उच्च अदालत तुलसीपुरमा राजस्व चुहावट सम्बन्धी मुद्दा दायर गरेको विभागले जनाएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ बस्ने पुनित बानियाँले सिद्धार्थनगर गल्लामण्डीमा रहेको सुमित एन्ड स्वयता ट्रेडर्स मार्फत राजश्व अपचलन गर्ने गरेको अभियोगमा ३३ करोड तीन लाख पचास हजार रुपियाँ बिगोदाबी सहित मुद्दा दायर गरिएको छ ।

अभियोगपत्र अनुसार बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको करयोग्य आयमा लाग्ने कर रकमसमेत सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला नगरेको उल्लेख छ ।

त्यस्तै अन्य विभिन्न फर्म प्रयोग गरी अवैध तवरले केही समय कारोबार गर्ने गरेको र उक्त फर्मले बुझाउनु पर्ने राजस्व नबुझाई अर्को फर्मबाट समेत कारोबार गरेको देखिएको कार्यालयले जनाएको छ ।

बानियाँले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्यले विभिन्न फर्म सञ्चालन गरी सरकारलाई नियमानुसार बुझाउनु पर्ने राजस्व नबुझाई निरन्तर एकपछि अर्को फर्मबाट कारोबार गर्दै आइरहेको पाइएको विभागको दाबी छ ।