back
stc
prabhu insurance

बजार पुँजीकरण सत्ताइस खर्बभन्दा माथि

काठमाडौँ । चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म धितोपत्र बजार पुँजीकरण २७ खर्ब २१ अर्ब ११ करोड रुपियाँ कायम भएको छ । २०७८ मङ्सिर मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ७० करोड रुपियाँ रहेको थियो ।

यस हिसाबले अघिल्लो वर्षको तुलनामा बजार पुँजीकरणमा छ खर्ब ७३ अर्ब रुपियाँले कमी आएको छ ।

समीक्षा अवधिसम्म ३५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपियाँ बराबरको डिबेन्चर, ११ अर्ब ५० करोड रुपियाँ बराबरको साधारण सेयर सूचीकृत भएको छ ।

त्यस्तै नौ अर्ब ७४ करोड रुपियाँ बराबरको बोनस सेयर, चार अर्ब ४९ करोड रुपियाँ बराबरको म्युचुअल फन्ड र तीन अर्ब ५९ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल ९२ अर्ब ७८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सात अर्ब २० करोड रुपियाँ बराबरको डिबेन्चर, पाँच अर्ब ९५ करोड रुपियाँ बराबरको म्युचुअल फन्ड, दुई अर्ब ४५ करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासनको अनुमति दिएको छ ।

त्यस्तै ९५ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल १६ अर्ब ५५ करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनको अनुमति पनि बोर्डले दिएको छ ।

समीक्षा महिनासम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २४७ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ।

६२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । सूचीकृत कम्पनीको सङ्ख्या २२४ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.२ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९ प्रतिशत रहेको छ ।

२०७८ मङ्सिर मसान्तमा २४१४.६ को बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७९ मङ्सिर मसान्तमा १८८२.६ कायम भएको थियो । जुन अहिले २१४९.३९ को बिन्दुमा रहेको छ ।