back
prabhu insurance
himalayanlife

सिमेन्ट निर्यात बढ्यो

काठमाडौँ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल निर्यात सात प्रतिशतले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।

विभागका अनुसार सात महिनामा दुई अर्ब ६० करोड ८५ लाख रुपियाँ बराबरको १० लाख ७३ हजार टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । जसमा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर एक अर्ब ७७ करोड रुपियाँ सिमेन्ट निर्यात भएको छ । छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात हुने गर्छ ।

गत वर्ष सो अवधिमा १६ करोड ७० लाख ३३ हजार रुपियाँ एक लाख ५२ हजार टन सिमेन्ट निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिङ्कर निर्यात बढ्न थालेको हो । आव २०७९/८० को बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो ।

देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।

“आन्तरिक बजारमा ३५ प्रतिशत मात्र सिमेन्ट खपत हुने गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका छन् ।”

आर्थिक सङ्कटका कारण पछिल्लो समय मुलुकमा नयाँ घरहरू समेत निर्यात भएको छैन । सरकारले विकास बजेट राम्ररी खर्च गर्न नसक्दा पनि सिमेन्टको खपत प्रभावित भएको छ जसको कारणले गर्दा पनि बजारमा सिमेन्टको माग घट्दै गएको व्यवसायीको भनाइ छ ।

“सरकारले निर्यातका लागि उचित व्यवस्थापन गरेपछि स्वदेशी सिमेन्ट उद्योगले वार्षिक एक खर्ब ५० अर्ब रुपियाँ बराबरको सिमेन्ट निर्यात गर्ने क्षमता छ,” उहाँले भन्नुभयो, “यसले १५ प्रतिशत व्यापार घाटा न्यूून गर्न सकिन्छ ।

सङ्घका अनुसार वार्षिक दुई करोड ५० लाख टन सिमेन्ट उत्पादन हुने गरेको छ । हाल कुल उत्पादन क्षमतामा ३५ प्रतिशत मात्र सिमेन्ट उत्पादन भइरहेको छ ।”

सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । गत वर्षदेखि सिमेन्ट निर्यातमा नगद अनुदान बढाएर आठ प्रतिशतसम्म पु¥याएको थियो आन्तरिक बजारमा खपत घटेपछि सस्तो मूल्यमा भारतबाट सिमेन्ट निर्यात गर्ने गरेको व्यवसायीको भनाइ छ ।

आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला ठुला जलविद्युत् आयोजना, हाउजिङ र घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीहरूको भनाइ छ ।

सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग  बन्द रहेको र  अन्य उद्योगहरू  पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

सिमेन्ट उद्योग पूर्ण क्षमता सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ । मुलुकमा आन्तनिर्भर रहेको सिमेन्ट उद्योग आर्थिक सङ्कटका कारण पूर्ण क्षमतामा सञ्चालन हुुन सकेको छैन ।

नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ।