back
stc
prabhu insurance

एक महिनामै थपिए अमेरिकामा दुई लाख ७२ हजार रोजगारी

अमेरिकामा अप्रिल महिनादेखि रोजगारीमा वृद्धि हुन थालेको छ । रोजगारदाताहरूले मे महिनामौ दुई लाख ७२ हजार रोजगारी थपेको जनाइएको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ ।

गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकका माग पूरा गर्न नियुक्तिहरू जारी राख्नुपरेको छ।

श्रम विभागले शुक्रबार बेरोजगारी दर अझै पनि तीन दशमलव नौ प्रतिशत रहेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ ।

रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गरेका छन् । सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ।