back
stc
prabhu insurance

ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ।

गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख बजेटबाट छ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो।

‘दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युत् गृहबाट मुहानसम्म एक हजार छ सय ८० मिटर पक्की बनाउने योजनाअनुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ’, अध्यक्ष घर्तीले भने, ‘गत वर्ष १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ।’

उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ। कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन्।

थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ।

सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

‘कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो’, उनले भने, ‘पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ।’ सिँचाइ सुविधा पुगेसँगै बाहै महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ।

दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए। उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन्।