back
stc
prabhu insurance

प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब ठगीमा थप तीन जना पक्राउ

पोखरा । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा कास्की प्रहरीले थप ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत मोदी–१ स्थायी घर भई हाल पोखरा– १८ बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भई हाल पोखरा–८ बस्ने ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा ३, तेर्सापट्टी बस्ने ४७ वर्षीया जीवन सार्की रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी उक्त कसूरबमोजिम सजायको लागि कास्की जिल्ला अदालतसमक्ष पेश गरिएको छ । उक्त ठगी प्रकरणमा अझै ५३ जना फरार छन् ।

कास्की जिल्ला अदालतले हिजो बिहीबार ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यस्तै, २ जनालाई धरौटीमा छाड्न भनेको थियो ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दाका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यस्तै, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको थियो ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको थियो ।

८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित ६५ जनालाई उक्त मुद्दामा प्रतिवादी बनाइएको ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकोमा ३ दिनसम्म थुनछेक बहसपछि यस्तो आदेश आएको हो ।

प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारीसमेत मुछिएका छन् ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी समेत यो ठगी प्रकरणमा मुछिएका छन् ।

सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन् । प्रहरीले उजुरी आह्वान गरेकोमा ९ सय ९२ जनाले उजुरी दिएका थिए ।

२०६६ सालमा खुलेको यो सहकारीको कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र बिस्तार थियो । हाल यसको प्रधान कार्यालय पोखरा–४, गैह्रापाटनमा कार्यालय छ ।