back
stc
prabhu insurance

मिडिया काउन्सिल विधेयक फिर्ता लिन क्रियाशील पत्रकारहरुको साझा मोर्चाको माग

काठमाडौँ । क्रियाशील पत्रकारहरुको साझा मोर्चाले सदनमा पेश भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर आज आफ्नो मागपत्र बुझाउँदै मोर्चाले यस्तो आग्रह गरेको हो ।

मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री गुरुङलाई भेटेर आज सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि विभिन्न ९ बुँदे मागपत्र बुझाएको छ।

जसमा मोर्चाले सञ्चारमैत्री कानूनको निर्माण गर्नका लागि राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिई सरोकारवालाहरूसँग व्यापक छलफल र निचोडपछि मात्र पुनः मिडिया काउन्सिल विधेयकलगायत अन्य सञ्चार कानून निर्माणमा पहल गर्न माग गरेको छ ।

यस्तै मोर्चाले पत्रकार एवम् सञ्चारमाध्यममा काम गर्ने श्रमजीवीहरूलाई पायक पर्ने जुनसुकै अस्पतालमा निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्न तथा श्रमजीवीहरूको पेशागत, भौतिक, सामाजिक एवम् आर्थिक सुरक्षाका निमित्त समाचारका विषय वस्तुमाथि नियामक निकायको रुपमा सञ्चार इजलास (अदालत) को गठन गर्न माग गरेको छ ।

मागपत्र बुझ्दै सञ्चारमन्त्री गुरुङले सञ्चार क्षेत्रको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको र विभिन्न कार्यविधि ल्याउने तयारीमा रहेको बताउनुभयो ।