back
stc
prabhu insurance

बीमक संघको अध्यक्ष पदमा वीरेन्द्र वैदबार क्षेत्री निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल बीमक संघले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आवेदन माग गरेको अन्तिम समयसम्ममा सबै पद १–१ जनाको मात्र दाबेदारी परेपछि सर्वसम्मतिबाट कार्य समितिको चयन भएको हो।

निर्वाचन अधिकृत आनन्द बाबु खड्काले सबै पदमा पदभन्दा बढी संख्यामा आवेदन नपरेकाले मतदानको कार्यक्रम रद्द गरिएको जानकारी दिएका छन् ।

नव निर्वाचित अध्यक्ष क्षेत्री , निवर्तमान कार्य समितिको उपाध्यक्ष रहेका छन्। आज शुक्रबार साँझ होटल र्‍याडिशनमा हुने २२ औं र २३ औं वार्षिक साधारण सभाले नवनिर्वाचित कार्य समितिको घोषणा गर्ने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्ष नेको इन्स्योरेन्सका अशोक कुमार खड्का, एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त महासचिव, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरू क्रमशः ओरिएन्टल इन्स्योरेन्सका टोटोन चक्रवर्ती,  हिमालयन  एभरेष्ट इन्स्योरेन्सकी  अञ्जु श्रेष्ठ, प्रभू इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहेका छन् ।

साधारण सभामा दुई आर्थिक वर्ष २०७९/८० र ०८०/८१ को वार्षिक प्रगती तथा वित्तीय प्रतिवेदनमाथि छलफल र अनुमोदन, लेखा परिक्षकको नियुक्ति, सामाजिक उत्तरदायीत्व अन्तर्गत संघले गरेको खर्च रकमको अनुमोदन गरिने कार्यक्रम रहेको छ। संघमा १४ वटा निर्जीवन बीमक आबद्ध छन् ।

निर्जीवन बीमा कम्पनीहरूको साझा संस्था, नेपाल बीमक संघको हालको अध्यक्ष सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री हुन्। २०७८ पुस २३ गतेको साधारण सभाले क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समितिको गठन गरेको थियो।