back
prabhu insurance
himalayanlife

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदाय स्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् ।

उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको छ ।

उनलाई यो नेतृत्व प्राप्त हुनु ज्यापु समुदायसँगै महानगरबासीका लागि गौरवको क्षण भएको उल्लेख गर्दै आज काठमाडौँको खुशिँवुमा रहेको लय्ता भ्वय् छेँमा कार्यक्रम आयोजना गरेर ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौँको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता व्यक्त गरिन ।

राजनीतिक नेतृत्व र आफूले गरिरहेका कामका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘म राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य होइन । मेरो परिवारमा कसैले पनि राजनीति गर्नुहुन्न ।

म पनि सामाजिक र सांस्कृतिक क्षेत्रको उत्थानका लागि समुदायमा काम गरिरहेकी थिएँ । यसरी काम गरिरहँदा सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मौलिकता प्रवर्धनका लागि राजनीतिक नेतृत्वमा पुगेर नीतिमार्फत काम गर्न सकिन्छ भन्ने अनुभूति भयो ।

यसपछि म समुदायकै हौसला र प्रेरणाले राजनीतिमा आएकी हुँ । विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य हुँदै विश्व स्तरीय मञ्चमा ४० वर्ष उमेर समूहमुनिका नेताका रुपमा चयन भएपछि मैले थप जिम्मेवारी महसुस गरेकी छु ।’

उनले भनिन्, ‘समुदायबाट प्राप्त सम्मानले मलाई लक्ष्यप्रति थप आँट र हौसला प्राप्त भएको छ । म यहाँहरुको अपेक्षालाई इमान्दारितापूर्वक वहन गर्नेछु ।’

डंगोलको विश्व युवा नेताका रुपमा नेतृत्व

सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका युवा नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।

उपप्रमुख डंगोल राजनीतिक नेतृत्वका रुपमा चयन भइन् । यसमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिए । त्यसमध्ये नेपालबाट छानिनेमा उहाँ मात्र छन् ।

डंगोलको व्यक्तित्व बारे फोरम आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ छन् ।