back
prabhu insurance
himalayanlife

नेपाल रिइन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। अन्य कम्पनीहरूले चैतसम्मको वित्तीय विवरण प्रकाशित गरिसक्दा यस कम्पनीले भने असोजसम्मको विवरण सार्वजनिक गरेको हो।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त) सम्म करीब ६ करोड ३३ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ४७ करोड ५६ लाख रूपैयाँ खुद घाटामा रहेकोमा यस वर्ष भने नाफा कमाउन सफल भएको हो।

खुद नाफा कमाएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि गत वर्ष ३ रूपैयाँ ७१ पैसा ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा ४७ पैसा धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रूपैयाँ ५४ पैसा रहेको छ।

गत वर्षको प्रथम त्रैमाससम्म १ अर्ब २८ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिसम्म ३८.४२ प्रतिशतले वृद्धि भएर १ अर्ब ७७ करोड रूपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३८.७२ प्रतिशतले वृद्धि हुँदा खर्च भने ४.७९ प्रतिशतले मात्रै वृद्धि भएको तथ्यांकले देखाएको छ। कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ४० करोड नाघ्दा कुल खर्च २ अर्ब २१ करोडबाट बढेर २ अर्ब ३१ करोड पुगेको छ।

चुक्ता पूँजी १३ अर्ब ४२ करोड रूपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ४३ करोड रूपैयाँ, महाविपत्ति कोषमा पौने ३३ करोड रूपैयाँ र जगेडा कोषमा साढे ५५ करोड रूपैयाँभन्दा बढी रकम रहेको छ।