back
stc
prabhu insurance

हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

राष्ट्र बैंकले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.को लाइसेन्स खारेज गरेको हो । दुवै कम्पनीले हुन्डी कारोबार गरी एजेन्टबीच नै कारोबार गरेपछि लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले बताए ।

त्यसैगरी सजिलो पेले मर्चेन्टहरूले नै नगद राख्ने झिक्ने गरेको पाइएपछि लाइसेन्स खारेज गरेको उनको भनाइ छ ।

तर, दुवै कम्पनीको कारोबार सुन तस्करी र हुन्डीसँग जोडिएको नेपाल प्रहरीले पुष्टि गरिसकेको छ । उक्त विषयमा प्रहरीले दुवै संस्थाका केही व्यक्ति हिरासतमा राखेको छ ।

पेवेल नेपाल प्रालि ११ असोज २०७७ र सजिलो पे पेमेन्ट सर्भिसेसले १७ चैत २०७७ मा राष्ट्र बैंकबाट लाइसेन्स पाएका थिए । यी कम्पनीले अन्य विभिन्न कानुनी व्यवस्था समेत पालना नगरेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार ती कम्पनीले भुक्तानी तथा फछ्र्र्योट ऐन २०७५, भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का विभिन्न प्रावधानको उल्लंघन गरेको पाइएपछि लाइसेन्स खारेज गरिएको हो ।

बैंक सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३५ को व्यवस्था अनुसार ती कम्पनीको लाइसेन्स खारेज गरिएको हो ।