दलहरुलाई निजी क्षेत्रको सुझाव– अबको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छ
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउनेमा हुनुपर्ने बताएका छन् ।
काठमाडौमा भएको एक कार्यक्रममा उनले राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष ढकालले राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने बताए ।
अध्यक्ष ढकालले भने, ‘अहिले राजनीतिक दलहरुको एजेण्डा मिसन ०८४ भनिने गरिएको छ । निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हामी रोजगारी सिर्जना गर्नेकुरा, राजश्व बढाउने कुरा छ ।
व्यवसायिक एक्टिभिटी बढाउँ भन्ने त्यो किसिमको एजेण्डाहरु हामीले अघि सार्नुपर्छ । त्यो एजेण्डा नै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि खोजेको एजेण्डा हो ।’ अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको र त्यसमा राजनीतिक दलहरु गम्भिर बन्नुपर्ने बताए ।
वि.सं.२०८२ साउन ९ ०५:२६




















