त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित पाँच व्यवसायी फर्म र दुई वटा होटेल, क्याफे बारलाई जरिबाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) क्षेत्रमा सञ्चालित पाँच व्यवसायी फर्म र दुई वटा होटेल, क्याफे बारलाई जरिबाना गरेको छ ।
विभागको आकस्मिक अनुगमन टोलीले बिहीबार साँझ र शुक्रबार एयरपोर्ट क्षेत्रका १८ वटा व्यवसायी प्रतिष्ठानको अनुगमन गरेकोमा पाँच वटा फर्मलाई तीन लाख रुपियाँका दरले र होटेल र क्याफे बारलाई दुई लाख पाँच हजार रुपियाँका दरले जरिबाना गरेको हो ।
विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका क्रममा एयरपोर्ट क्षेत्रका ती व्यवसायी फर्मले गरेको कैफियतका आधारमा जरिबाना र स्पष्ट कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।
विभागका अनुसार जरिबाना पर्नेमा सान इन्टरप्राइजेज प्रा.लि., ओरियन्टल होटेल लि., टी. श्री थकाली ग्रुप प्रा.लि., साई किरण इन्टरप्राइजेज र एयरपोर्ट सर्भिसेज प्रा.लि. रहेका छन् । यी पाँच वटै व्यावसायिक फर्मलाई जनही तीन लाख रुपियाँका दरले जरिबाना गरेको छ ।
त्यसै गरी सोही क्षेत्रमा सञ्चालित होटेल सोनिग प्रा.लि. र यमी क्याफे एन्ड वार प्रा.लि.लाई दुई लाख पाँच हजार रुपियाँका दरले जरिबाना गरेको विभागले जनाएको छ ।
विभागका अनुसार एयरपोर्ट क्षेत्रका ती व्यवसायी फर्ममा एमआरपी नभएको सामान बिक्री गरेको, एमआरपी भएका सामानमा स्टिकरले छोपेर बढी मूल्यमा बिक्री गरेको र म्याद नाघेका खाध्य रङ फेला परेको थियो ।
यस्तै विभागको आकस्मिक अनुगमन टोलीले सोही क्षेत्रमा सञ्चालित सोल्टी होटेल लिमिटेडलाई भने व्यवसायसँग सम्बन्धित कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।
अनुगमनका क्रममा होटेल सोनिग प्रा.लि., कान्तिपुर क्याफे, क्लासिक माट्र्स र प्रोएक्टिभ बिजनेस सेन्टर प्रा.लि.लाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात र दररेट सम्झौतासहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसै गरी एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, अरबिका पिज्जेरिया, टिजी थकाली ग्रुप, पुर्बेली मल्टी क्युजिन र लिटिल नेपाल इटरीलगायतका अन्य छ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागका निर्देशक नरहरी तिवारीले कानुनविपरीत व्यापार तथा व्यवसाय सञ्चालन गरेका व्यवसायी फर्मलाई विभागको अनुगमन टालीले कारबाही तथा जरिबाना गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यी फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाविपरीत गरेको पाइएपछि जरिबाना एवं कारबाही गरिएको हो ।
विभागले नेपालमा उत्पादित तथा आयातित वस्तु सबैमा एमआरपी अनिवार्य गरेको छ । यसको कार्यान्वयन नगर्ने जोकोही कानुनी अनुरूप कारबाहीको भागीदार हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
वि.सं.२०८३ वैशाख १२ ०७:००




















