back
prabhu insurance
himalayanlife

हेम बहादुर मल्ल सम्मान २०८१ र ८२ पुरस्कार डा. माकाजु र डा. खनाललाई प्रदान गरिने

काठमाडौं । नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन,सार्वजनिक सेवा,व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय याेगदान पुरयाउदै आएका दुई विशिष्ठ व्याक्तिहरूलाई ” हेम बहादुर मल्ल सम्मान ” अर्पण गर्ने निर्णय गरेकाे छ।

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडकाे आर्थिक सहयाेगमा याे सम्मान पुरस्कार दिइदै आएकाे छ। “हेम बहादुर मल्ल सम्मान पुरस्कार”२०८१ नेपालकै उत्कृष्ट नमूना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालकाे स्थापना तथा सञ्चालन लगायत गुणस्तरीय सार्वजनिक सेवाकाे श्रीबृद्विमा पुरयाएकाे विशिष्ट याेगदानकाे कदरस्वरूप चिकित्सक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई अर्पण गरिएकाे छ।

साथै “हेम बहादुर मल्ल सम्मान २०८२” पुर्व अर्थ सचिव तथा पुर्व अर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाललाई सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाकाे श्रीबृद्वि,सार्वजनिक जिम्मेवारीमा रहदा नीति,प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले निर्वाह गरेकाे भुमिका र याेगदानलाई सम्मान गर्दै सम्मान र पुरस्कार अर्पण गर्ने घाेषणा भदाै ५ गते गरिएकाे छ। नेपाल जन-प्रशासन संघका अध्यक्ष, पुर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका पुर्व स्थायी प्रतिनिधि डा. मधुरमण आचार्यले उक्त घाेषणा गर्नु भएकाे थियाे।

यी सम्मानित विशिष्ट व्याक्तिहरूलाई यही ८ गते साेमबार एक भब्य कार्यक्रम सहित राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा सम्मान र पुरस्कार प्रदान गरिदैछ। पुरस्कार राशी जनही दुई लाख नगद र सम्मान प्रमाणपत्र समेत दिइने जन-प्रशासन संघका अध्यक्ष डा. मधुरमण आचार्यले बताएका छन। समारोहमा सम्मानित व्यक्तित्वका योगदानसँगै सार्वजनिक सेवा, संस्थागत नेतृत्व र उनीहरूको अनुभव तथा दृष्टिकोणबारे सार्वजनिक संवादसमेत गरिनेछ।

पुरस्कार छनाेट समिति पुर्व सचिव कृष्ण ज्ञवालीको संयाेजकत्वमा पाँच सदस्यीय समिति गठन गरि विभिन्न मापदण्ड र आधारमा सम्मानित व्याक्ति छनाेट गरिएकाे छनाेट समितिका संयाेजक ज्ञवालीले बताएका छन।

सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा निर्वाह गरेको भूमिका र योगदानलाई सम्मान छनोटको महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ । सार्वजनिक सेवा सरोकारमा योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई छनोटको आधार बनाइएको संघले जनाएको छ ।

नेपाल जन–प्रशासन संघले वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई “हेमबहादुर मल्ल सम्मान” प्रदान गर्दै आएको छ ।

स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्वमा रहेर सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण स्वरूप साल्ट ट्रेडिङ कर्पोरेसनको साझेदारीमा यो सम्मान स्थापना गरिएको हो ।

यस सम्मानबाट यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्‍याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन् । यी दुई सम्मानित व्याक्तित्व सहित २३ जना सम्मानित हुनेछन।

नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पेसागत सम्बन्ध सुदृढ गर्दै नीति निर्माण, पुनरावलोकन तथा मूल्यांकनमा व्यावसायिक पृष्ठपोषण प्रदान गर्दै आएको छ।

संघले गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा सम्मानलगायत कार्यक्रममार्फत सार्वजनिक प्रशासनको व्यावसायिक विकास र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

पुरस्कार तथा सम्मान घाेषणा कार्यक्रममा साल्ट ट्रेडिङ कर्पाेरेसनकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ,कर्पाेरेसनका सञ्चालकहरू, अध्यक्ष प्रदीप श्रेष्ठ,पुरस्कार छनाेट समितिका संयाेजक पुर्व सचिव कृष्ण ज्ञवाली,पुर्व सचिव कृष्णहरि बाँस्काेटा र जन-प्रशासन संघका अध्यक्ष मधुरमण आचार्य लगायत वरिष्ठ व्याक्तिव्वहरूकाे उपस्थित रहेकाे थियो ।