बीवाईडीले जित्यो अटोमोबाइल विधामा ‘ग्लोबल ब्रान्ड अफ द इयर’ अवार्ड
चिनियाँ सवारी निर्माता कम्पनी बीवाईडीले सन् २०२६–२०२७ को ‘वर्ल्ड ब्रान्डिङ अवार्ड्स’ अन्तर्गत अटोमोबाइल विधामा ‘ग्लोबल ब्रान्ड अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
बेलायतको लन्डनस्थित ह्याम्पटन कोर्ट प्यालेसमा नोभेम्बर ३ मा आयोजित समारोहमा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
वर्ल्ड ब्रान्डिङ फोरमले आयोजना गर्ने यस अवार्डमा ब्रान्डको मूल्यांकन, उपभोक्ता बजार अनुसन्धान र सार्वजनिक अनलाइन भोटिङलाई आधार बनाइन्छ।
अवार्डको ग्लोबल टियरमा समावेश हुन कुनै ब्रान्ड कम्तीमा तीन महादेशका १० वा सोभन्दा बढी देशमा सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ। यसले कुनै एक देशको बजारमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्डलाई मान्यता दिने आयोजकको भनाइ छ।
अवार्ड प्राप्त गरेपछि बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले यसलाई कम्पनीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको बताएकी छन्।
उनका अनुसार प्रविधिमार्फत ग्राहकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र उनीहरूको विश्वास जित्नु नै ब्रान्ड निर्माणको आधार हो। यस सम्मानले विश्वभरका साझेदारसँग सहकार्य गर्दै दिगो यातायातलाई थप उपभोक्ताको पहुँचमा पुर्याउन प्रेरित गर्ने उनको भनाइ छ।
बीवाईडीका न्यु इनर्जी भेइकल अहिले विश्वका १२० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्। कम्पनीले पूर्ण विद्युतीय (ईभी) र प्लग–इन हाइब्रिड सवारी उत्पादन गर्दै आएको छ।
ब्याट्री, विद्युतीय मोटर, इलेक्ट्रोनिक कन्ट्रोलर र अटोमोटिभ ग्रेड सेमिकन्डक्टरमा कम्पनीको आफ्नै प्रविधि तथा उत्पादन क्षमता रहेको छ।
कम्पनीका अनुसार ब्लेड ब्याट्री र सुपर हाइब्रिड डीएम–आई सिस्टम उसका प्रमुख प्रविधि हुन्। ब्याट्री तथा विद्युतीय पावरट्रेनमा हासिल गरेको विशेषज्ञतालाई विभिन्न प्रकारका सवारीसाधनसँग जोडेर ग्राहकको फरक–फरक आवश्यकता पूरा गर्ने र नयाँ ऊर्जा सवारीको प्रयोग विस्तार गर्ने लक्ष्य बीवाईडीले राखेको छ।
यो अवार्डलाई कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचान विस्तार गर्ने यात्राको अर्को उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा पनि प्रविधिगत नवप्रवर्तन तथा सुरक्षित र प्रभावकारी नयाँ ऊर्जा सवारीसाधनको विकासमा केन्द्रित रहने कम्पनीले जनाएको छ।
‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ अर्थात् पृथ्वीको तापक्रम एक डिग्री सेल्सियसले घटाउने दृष्टिकोणलाई बीवाईडीले आफ्नो दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ।
नेपालमा समेत बीवाईडीका सवारी साधन उपलब्ध छन् र नेपालमा बिक्री हुने सवारी साधनमा बीवाईडीका सवारी साधन अग्रस्थानमा पर्छन् ।
वि.सं.२०८३ कात्तिक १९ ०९:३२




















