नेपाल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवाअन्तर्गत नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाटै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
सेवा सञ्चालनका लागि नेपाल बैंक र फोनपेबीच मंसिर १० गते सम्झौता भएको हो । नेपाल बैंकको प्रधान कार्यालय न्युरोडमा भएको सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका थिए ।
फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन, विभिन्न ठाउँमा भुक्तानी गर्न सकिने सुविधा, कारोबारको तत्काल जानकारी र ४५ दिनसम्म ब्याज नलाग्ने अवधि रहेको बैंकले जनाएको छ । ग्राहकले आफ्नो सुविधाअनुसार भुक्तानी गर्ने विकल्प पनि छनोट गर्न सक्नेछन् ।
यो सेवाले ग्राहकलाई नगदरहित कारोबार गर्न सहज बनाउने र डिजिटल बैंकिङको पहुँच बढाउने बैंकको विश्वास छ ।
नेपाल बैंकले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेको बैंकले जनाएको छ ।
वि.सं.२०८३ मंसिर ११ १४:४२




















