back
stc
prabhu insurance

दुई आकर्षक निक्षेप योजना सिभिल बैंकले ल्यायो 

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज दर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । न्युनतम मौज्दात २५ हजार रहेको “सुपर प्रिमियम वचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेट लाईफ”संगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

त्यसैगरी खुत्रुके खाता (रिकरिंग डिपोजिट)मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई बर्ष देखि दश बर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम रु पाँच सय देखि माथि संचय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन ।

अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिग भोला ब। विष्टले जानकारी दिए ।