प्रभु बैंकले १३ प्रतिशतसम्म लाभांश दिन सक्ने

काठमाडौं । प्रभु बैंक लि.ले गत आर्थिक वर्ष २०७७/०७८ मा ६८ प्रतिशतले नाफा बढाएको जनाएको छ । प्रभु बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो वर्ष २०७६/०७७ मा प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो । बैंकको ब्याज आम्दानी,ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ । प्रभु बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ ।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु बैंकले एक वर्षको अवधिमा निक्षेप कर्जा बृद्धि राम्रो देखिएको छ । २०७८ असार मसान्तसम्म प्रभु बैंक लि. मा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब लगानी भएको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब रूपैयाँ निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो । प्रभु बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ४८ करोड रुपैयाँ रहन सक्ने अनुमान रहेको छ ।
यसबाट मात्र प्रभु बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ । पूँजीकोष अनुपात १३.०७ प्रतिशत रहेको प्रभु बैंक लि।को खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।
यस्तै कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत छ । बेसरेट ६.८८ प्रतिशत तथा स्प्रेड ३.६५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७८ साउन ३१ १६:२३