विकास बैंकबीच निक्षेपको ब्याजदर कम्तीमा १० प्रतिशत राख्ने सहमति

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत वा सो भन्दा केही माथि नै राख्ने सहमति गरेका छन् । आज ८ वटा राष्ट्रियस्तरका विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) हरुको अनौपचारिक बैठकले यस्तो सहमति गरेको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये कसैले १० प्रतिशत वा कसैले त्यसभन्दा केही माथि नै ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छन । तर, ११ प्रतिशतभन्दा माथि भने ब्याजदर नपुर्याउँने सहमति भएको छ ।
नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का नेतृत्वकर्ता बैंकरबीच ब्याजदरलाई सिंगल डिजीटमा राख्ने भद्र सहमति भएको बुझिए पनि केही वाणिज्य बैंकले त्यो नमान्ने संकेत प्राप्त भएको छ। उनीहरुभन्दा केही माथि नै विकास बैंकहरुले ब्याज अफर गर्ने भएका छन ।
एनआइसी एशिया र एनसीसी बैंकले १० प्रतिशतभन्दा माथि नै ब्याजदर अफर गर्दै नयाँ रेट सार्वजनिक गर्ने सूचना आएको छ ।
यदि वाणिज्य बैंकले नै १० प्रतिशत ब्याजदर दिए भने विकास बैंकले १०।५ प्रतिशत त दिने छन्, बैंकहरूले १०।५ प्रतिशत ब्याज पुर्याए भने विकास बैंकहरूले ११ प्रतिशतसम्म व्याज पुरयाउने सहमति गरेका छन।
साना बित्तीय संस्थाहरुले आफूसँग भएको निक्षेप जोगाउनैका लागि भए पनि ठूलो संस्थाभन्दा बढी ब्याजदर दिनुपर्ने बाध्यता रहेको छ । असोजमा बित्त कम्पनीहरुले ८.५ प्रतिशत मात्र ब्याज दिने सहमति गरेका छन।
त्यसको परिणाम धेरैबाट निक्षेप विथड्रल भएर बिजोग अवस्था बन्यो । केही वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी नै ब्याजदर अफर गरेपछि निक्षेप त्यता गयो । यसपटक वाणिज्य बैंकभन्दा थोरै ब्याजदर राखेर विकास बैंक पनि त्यही अवस्था आउन दिंदैन।
वि.सं.२०७८ असोज ३१ २१:०९