back
stc
prabhu insurance

प्राइम कमर्सियल बैंक र ,एनसीसी बैंकले बढाए निक्षेपमा व्याज

काठमाडौं । प्राइम कमर्सियल बैंक लि र एनसीसी बैंक लि।ले व्यक्तिगत मुद्दति तर्फको ब्याजदर आज कार्तिक १ गतेबाट लागू हुने गरि बढाएका छन् । आज कात्तिक १ गतेदेखि लागू हुने गरी प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही बढाएको छ ।

नयाँ ब्याजदरअनुसार ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिको ब्याजदर ९.२५ प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत कायम गरिएको छ ।

असोज महिनामा प्राइम बैंकले ३ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ८ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत र १३ महिना वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्राइम बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखेको छ । जसअनुसार ३ महिनादेखि १ वर्षे अवधिको संस्थागत मुद्दति निक्षेपमा ९.५० प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ९।७६ प्रतिशत ब्याजदर तोकिएको छ । यो बैंकले बचत खाताको ब्याजदर पनि यथावत नै राखेको छ ।

यसैगरि वाणिज्य बैंकका सीइओहरुबीचको भद्र सहमति विपरीत नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि निक्षेपको ब्याजदर बढाएको छ ।

कात्तिक १ गतेदेखि लागू हुने गरी एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा निक्षेपको ब्याजदर बढाइएको छ । एनसीसी बैंकले व्यक्तिगत तर्फ ३ महिने वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत तोकेको छ । यस्तै संस्थागततर्फ ३ महिनादेखि माथिको ब्याजदर १०.५५ प्रतिशत तोकिएको छ ।

विदेशी मुद्राको मुद्दति निक्षेपको ब्याजदर भने आपसी समझदारीमा तय गरिने उल्लेख छ । मुद्दति निक्षेपसँगै बैंकले बचत खाताको ब्याजदर समेत वृद्धि गरेको छ । बचततर्फ अधिकत ६ प्रतिशत ब्याज पुगेको छ ।

असोजमा भने एनसीसी बैंकको ब्याजदर केही कम थियो । तीन महिने वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.२६ प्रतिशत थियो भने व्यक्तिगत मुद्दति तर्फ ३ महिनादेखि २ वर्ष अवधिको निक्षेपको ब्याजदर ८.७५ प्रतिशत तथा २ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत तोकिएको थियो । असोजमा एनसीसीले बचतमा अधिकत ५ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल बैंकर्स एशोसिएसन (एनबीए) का केही नेतृत्वकर्ता बैंकरबीच ब्याजदर सिंगल डिजीटमा सीमित गर्ने भद्र सहमति भएको थियो । तर, यो सहमतिविपरीत एनसीसी बैंकले डबल डिजीटको ब्याजदर सार्वजनिक गरेको छ ।

एनसीसीले ब्याजदर बढाएसँगै अब राष्ट्रिय स्तरका विकास बैंकहरुको मुद्दति निक्षेपतर्फको न्यूनतम ब्याजदर १०.५ प्रतिशतसम्म हुने देखिएको छ।