एनआइसीको बचतकै ब्याजदर ८.१० र मुद्दतिको११.१० प्रतिशत व्याज

काठमाडौं । एनआइसी एशिया बैंक लि.ले मुद्दति निक्षेपकै ब्याजदर ११.१० प्रतिशत पुर्याएको छ । बैंकले बचत खाताको ब्याजदर समेत बढाएर ८.१० प्रतिशत पुर्याएको छ ।
बैंकको आज कात्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार बैंकले असोजको तुलनामा कार्तिकमा व्याजदर ह्वात्तै वृद्धि गरेको छ ।
यस बैंकले व्यक्तिगततर्फको मासिक निक्षेप खाताको ब्याजदर असोजको तुलनामा २.५ प्रतिशतले बढाएको छ भने केही बचत खाताको ब्याजदर ३ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ ।
एनआइसी एशिया बैंकले चलाख्याई पूर्वक ठूलो निक्षेपलाई टार्गेट गर्दै नयाँ ब्याजदर निर्धारण गरेको देखिएको छ । न्यूनतम ब्यालेन्स ५०० रुपैयाँ राखे पुग्ने न्यू प्रिमियम सुपर चमात्कारिक मासिक निक्षेप खाता (नर्मल) को ब्याजदर ११.१० प्रतिशत निर्धारण गरिएको छ । यस्तै, यही नामको कस्टमाइज्ड खातामा समेत ११.१० प्रतिशत नै ब्याजदर पाइनेछ ।
यसैगरी १ वर्षदेखि १० वर्षे अवधिको मुद्दति निक्षेपको प्रडक्ट तयार गर्दै एनआइसी एशियाले ११.१० प्रतिशत नै ब्याजदर निर्धारण गरेको छ । सर्वश्रेष्ठ मुद्दति खाता दि एनआइसी एशिया एम्बेस्डरमा न्यूनतम ब्यालेन्स १ करोड हुनुपर्नेछ, जसमा ११.१० प्रतिशत वार्षिक ब्याज पाइनेछ ।
यस्तै, सर्वश्रेष्ठ मुद्दति खाता दी प्राइड अफ एनआइसी एशियामा न्यूनतम ब्यालेन्स ५० लाख हुनुपर्नेछ, यसमा पनि ११.१० प्रतिशत नै ब्याज पाइने छ ।
तीन महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने १०.१० प्रतिशत निर्धारण गरिएको छ । ३ देखि ११ महिने मुद्दति निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम गरिएको छ । यस्तै तीन महिने अवधिको संस्थागत मुद्दति निक्षेप खाताको ब्याजदर १०.१० प्रतिशत, ३ देखि ११ महिनासम्मको १०.६० प्रतिशत र १ देखि १० वर्ष अवधिको ११.१० प्रतिशत ब्याजदर अफर गरिएको छ ।
एनआइसी एशिया बैंकको भदौ महिनाको आधार दर ६.८९ प्रतिशत रहेको छ । अधिकांश लोनको ब्याजदर आधार दरमा ६ प्रतिशत प्रिमियम थपेर निर्धारण हुने बताइएको छ । यसको अर्थ बैंकले प्रवाह गर्ने कर्जाको न्यूनतम ब्याजदर १३ प्रतिशत हाराहारी पुगेको छ ।
वि.सं.२०७८ कात्तिक १ ०६:१८