back
stc
prabhu insurance

मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपमा १०.६१ प्रतिशत ब्याज दिने

काठमाडौं । केही वाणिज्य बैंकहरुले १० प्रतिशतसम्म निक्षेपको ब्याजदर तोकेपछि आफ्नो निक्षेप जोगाउन विकास बैंकहरु व्याजदर निर्धारणमा आक्रामक देखिएका छन् ।

यही क्रममा सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब १०.६१ प्रतिशत पुर्याएको छ ।

आज कात्तिक १ गतेदेखि लागू हुने गरी यो बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब १०.६१ प्रतिशत पुर्याएको हो । असोज महिनामा यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.५ प्रतिशत मात्र ब्याजदर तोकेको थियो ।

मुक्तिनाथ विकास बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.६१ प्रतिशत ब्याजदर तोकेको हो । यस्तै संस्थागत मुद्दति निक्षेपका लागि पनि ३ महिना वा सोभन्दा बढी अवधिलाई १०.६१ प्रतिशत ब्याजदर तोकिएको छ ।

बैंकले कर्मचारी बचत खाताको ब्याजदर ६.११ प्रतिशत पुर्याएको छ भने अन्य बचत खातातर्फ अधिकत ५।६१ प्रतिशत ब्याजदर तोकेको छ । कर्जाको ब्याजदर पछिल्लो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने सूचनामा उल्लेख छ । यो बैंकको भदौको बेसरेट ८.०५ प्रतिशत थियो ।