सरकारी बाणिज्य बैंकहरूले पनि बढाए निक्षेपमा व्याजदर

काठमाडौं । सरकारी लगानीका तीन वाणिज्य बैंकहरूले पनि आजबाट निक्षेपको ब्याजदर बढाएका छन् । कात्तिक १ गतेदेखि लागु हुनेगरी कृषि विकास बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि. र नेपाल बैंक लि. ले बचत तथा मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् ।
अघिल्लो महिना ब्याजदर नबढाएका यी बैंकहरुले निजी क्षेत्रका बैंकसँग निक्षेपमा प्रतिस्पर्धा गर्न ब्याजदर बढाएका हुन् ।
कृषि विकास बैंकले साधारण बचत खाताको ब्याजदरलाई ३.५० प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हालसम्म ७.२५ प्रतिशत रहेकोमा एकैपटक १.७५ प्रतिशत विन्दुले बढाएर ९ प्रतिशत पुरयाएको छ ।
साधारण बचत खाताको ब्याजदर बढाए पनि यसअघि नै उच्च ब्याजदर भएका विशेष बचत खाताको ब्याजदरलाई भने बैंकले यथावत नै राखेको छ । साधारण बचत खाताको ब्याजदर बढेसँगै कल डिपोजिटको ब्याजदर समेत १.७५ प्रतिशतबाट बढाएर २ प्रतिशत पुर्याइएको छ ।
नेपाल बैंकले बचत खाताको ब्याजदरलाई यथावत राखेर मुद्दती खाताको ब्याजदर बढाइएको छ । यअसघि साधारण बचत खातामा दिँदै आएको ३.०५ प्रतिशतको वार्षिक ब्याजदरलाई बैंकले यथावत राखेको हो । विशेष बचत खाताको ब्याजदरलाई पनि अधिकतम ४.५५ प्रतिशत दिँदै आएकोमा कात्तिक १ गतेदेखि पनि सोही दर कायम हुनेछ ।
एक वर्षे मुद्दती निक्षेपमा भने बैंकले यसअघि ८।०५ प्रतिशत ब्याज दिँदै आएकोमा यसलाई १ प्रतिशत विन्दुले बढाएर ९.०५ प्रतिशत पुर्याएको छ । कल डिपोजिटको ब्याजदर १.५० प्रतिशतमा यथावत राखिएको छ ।
उता राष्ट्रिय वाणिज्य बैंकले साधारण बचत खातामा ०.४९ प्रतिशत विन्दुले ब्याजदर बढाएर ३.५५ प्रतिशत पुर्याएको छ भने विशेष बचत खातामा ०.०५ प्रतिशतले ब्याजदर बढाएर ५.०५ प्रतिशत पुरयाएको छ ।
मुद्दती निक्षेपतर्फ बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशतमा यथावत राखे पनि विशेष मुद्दती खाताको ब्याजदर ८.५५ प्रतिशत पुरयाएको छ । संस्थागत मुद्दती खाताको ब्याजदर ८.२५ प्रतिशत पुयाइएको छ ।
सानिमा बैंकले भने बचत र मुद्दती दुवै निक्षेपको ब्याजदर घटाएको छ । बचत खातामा यसअघि ५ प्रतिशत रहेको ब्याजदर घटाएर ४ प्रतिशतमा झारिएको छ ।
त्यस्तै ३ महिनादेखि ६ महिनासम्म अवधिको मुद्दती खातामा बैंकले यसअघि दिँदै आएको ७ प्रतिशत ब्याजदरलाई घटाएर ६ प्रतिशतमा झारेको छ ।
६ महिनाभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर पनि १ प्रतिशत विन्दुले घटाएर ८.०१ प्रतिशत विन्दुमा सीमित राखिएको छ । संस्थागत मुद्दती निक्षेपमा अघिल्लो ९।५१ प्रतिशतसम्म ब्याज दिँदै आएकोमा यसलाई घटाएर ८.५१ प्रतिशत विन्दुमा झारिएको छ ।
प्रभु बैंकले भने ब्याजदरमा कुनै परिवर्तन नगरी कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ । बैंकले साधारण बचत खातामा ३.२५ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । एक वर्षे व्यक्तिगत तथा संस्थागत निक्षेपमा यसअघि दिँदै आएको ८.२५ प्रतिशतको दरलाई पनि बैंकले यथावत नै राखेको छ ।
वि.सं.२०७८ कात्तिक १ १०:४७