माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक ४ गते बिहीबार अन्तिम

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक ४ गते बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते आइतबार बुक क्लोज गर्दैछ ।
यस आधारमा कात्तिक ५ गते शुक्रबार र ६ गते शनिबार दुवै दिन बजार नखुल्ने भएकाले आजै बिहीबार लाभांश सुरक्षित गरिसक्नु पर्ने हुन्छ । गत वर्षको नाफाबाट यसले लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
बैंकले उक्त १४ प्रतिशत लाभांश अनुमोदन गर्न कात्तिक २६ गते वार्षिक साधारण सभा डाकेको छ । २३ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक ४ ०८:३९