आगामी असार १७ बाट नबिल बैंकको सीइओमा ज्ञानेन्द्र ढुंगाना
काठमाडौं । नबिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। गत जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी चार वर्षका लागि सीइओ नियुक्त गरेको छ।
बैंकका वर्तमान सीइओ अनिल केशरी शाहको कार्यकाल आगामी असार भित्रै सकिँदै छ। त्यससँगै रिक्त पदका लागि पूर्वतयारी गर्दै बैंकले उक्त जिम्मेवारीमा ढुंगानालाई ल्याउन लागेको बताइएको छ। ढुंगानाले यही असार १७ गतेबाट नबिल बैंकको सीइओको रुपमा पदबहाली गर्नेछन्।
यसअघि नबिल बैंकसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक लि.(एन.बी.बैंक) मा एक दशक ढुंगानाले व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस दौरान ढुंगानाले एन.बी. बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका थिए ।
ढुंगाना नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि निजी क्षेत्रका बैंकहरुबाट नयाँ बैंकिङ करियर सुरु गरेका थिए।
राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एन.सी.सी. बैंक) बैंक लि.को महाप्रबन्धकमा नियुक्त भएका थिए। सो बैंकमा एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एन.बी.) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए।
गत २०७९ पुस १२ गते एन.बी. बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नबिल बैंकको सीईओको नयाँ भूमिकामा देखा परेका हुन्।
असार १२ गते उनको कुलिङ पिरियड सकिँदै छ। सो लगत्तै असार १७ बाट जिम्मेवारी सम्हाल्ने गरी उनी नबिलको सीईओ नियुक्त गरिएको बताइएको छ।
राष्ट्र बैंकसँग मर्जरको अन्तिम स्विकृतीका लागि नबिलले एकीकृत कारोबार गर्न थाल्दा बैंकको व्यवस्थापीय टिम के कस्तो हुने भन्ने सम्पूर्ण विवरण खुलाउनुपर्ने हुन्छ।
नबिल बैंकले गत जेठ ९ गते राष्ट्र बैंकलाई अन्तिम स्वीकृति माग्दै सो विवरण समेत बुझाएको छ, जसमा मर्जरपछि एक हुने संस्थाको व्यवस्थापकीय नेतृत्व ढुंगानाले गर्ने उल्लेख गरेको छ।
सोही अनुसार आगामी यही जुलाई १ बाट ढुंगानालाई नबिल बैंकको सीइओको जिम्मेवारी दिन लागिएको हो।
राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिल बैंक लि.ले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुआती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीइओ नियुक्तिको निर्णय गरेको थियो।
वि.सं.२०७९ जेठ १० १५:०८




















