नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, सोमबार बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
असार २८ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।
यो ट्रेजरी असोज २५ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी आगामी पुस २६ गते परिपक्व हुनेछ ।
यता, ३६४ दिनका लागि जारी हुने ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने २०८० असार २६ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
वि.सं.२०७९ असार २६ १४:४५




















