back
prabhu insurance
himalayanlife

राष्ट्रिय वाणिज्य बैंकको पश्चिम रूकुममा शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबाट ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । सो समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको थियो ।

बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केशबराज खनालको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद गोपाल प्रसाद शर्मा, प्रदेश सांसद देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबि के.सी., मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी., त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार के.सी., सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्ट, पश्चिम रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्का पनि समारोहमा सहभागी भएका थिए ।

सो समारोहमा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघ–सस्थाका प्रतिनिधिहरु, बैंकका प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक मुन बहादुर बुढा, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।