back
stc
prabhu insurance

मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।

मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाले भदौ २४ गते बेलुका ७ बजेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

निक्षेप रकम राख्न राष्ट्र बैङ्कले केही सर्तसमेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने रहेका छन् ।

यसै गरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने र कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।