back
stc
prabhu insurance

सस्तैमा राष्ट्र बैंकलाई पैसा दिन बैंकहरु बाध्य, १ खर्ब माग्दा झन्डै २ खर्ब दिन तयार

काठमाडौं । बैंकहरुको ब्याजदर सिंगल डिजिटमा आइसक्दा पनि कर्जाको माग भने खासै बढ्न सकेको छैन।

बैंकहरुको आधारदर निकै तल आइसकेको छ। कर्जाको माग बढाउन बैंकहरुले आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम लिएर ब्याजदर निर्धारण गर्न थालेका छन्।

बैंकहरुमा पैसा फालाफाल भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।

साउनयताकै कुरा गर्ने हो भने केन्द्रीय बैंकले ३ खर्ब १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न बोलकबोल गरिसकेको छ।

कर्जाको माग सोचेजस्तो नहुँदा बैंकहरु पनि सस्तो ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

पछिल्लोपटक राष्ट्र बैंकले गत भदौ २ गते एकैदिन १ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न बोलकबोल गरेको थियो।

सो दिनको बोलकबोल हेर्दा औसत २।८८ प्रतिशतमै बैंकहरुले राष्ट्र बैंकलाई पैसा जिम्मा लगाएका छन्।

भदौ २ मा राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्न खोजेकोमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९६ अर्ब २५ लाख रुपैयाँको बोलकबोल गरेका थिए। सो दिन २५ वटा बैंक तथा वित्तीय संस्थाले ५५ वटा बोली लगाएका थिए।