back
stc
prabhu insurance

सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ।

सो फण्डको इकाई खरिदका लागि फागुन २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा अधिक आवेदन प्राप्त भएका कारण आज बैंकिङ्ग समयपश्चात आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।

सानिमा फ्लेक्सी फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो।

सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो। उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।