back
stc
prabhu insurance

माधव एमाले फुटाउने अन्तिम तयारीमा !

काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन सहित सांगठनिक कार्य अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजनको तयारी थालेको छ ।

एक सातादेखि निरन्तर रुपमा केन्द्रीय सदस्य, जिल्ला कमिटी सदस्य तथा अन्य स्थानीय नेता कार्यकर्ताहरुसँग छलफल गरिरहेको नेपाल समूहले विभाजनको तयारी थालेको छ ।

ओलीले एकताको ढोका बन्द गरेको निष्कर्ष सहित विभाजनको तयारी गरेको नेपाल पक्षले पार्टीभित्र उत्पन्न विवादलाई सुल्झाउनु भन्दा गुटगत भेला बैठक कार्यहरु अघि बढाएपछि देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विभाजनको तयारी गरेको छ ।

माधव नेपालले आफू निकटका केन्द्रीय सदस्यहरुलाई फोनबाट विभाजनको लागि तयारी रहन र त्यही अनुसार संगठन बनाउन निर्देशन दिइरहेका छन्। ओलीले पार्टीभित्र छिर्न नदिएपछि नेपालले अब वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाएका हुन् ।

अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने हो भन्ने विषयमा ओली पक्षले एकताको ढोका करिब करिब बन्द गरेको भन्ने माधव नेपालको पक्षको निष्कर्ष रहेको छ ।

नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले ओलीका कारण एकताको सम्भावना न्यून रहेपनि अन्तिम अवस्थासम्म पार्टी एकताको पहल गर्ने निर्णय गरेको थियो । तर ओली पक्षले विधान संशोधनको प्रस्ताव अघि सारेपछि नेपाल पक्ष विभाजनको विकल्प नभएको भन्दै अघि बढेको छ ।

नेपाल पक्षको बैठकले गरेको निर्णय अनुसार ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अबलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख थियो ।

सो बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने र ससम्मान एकताको आवश्यकता रहेको धारणा प्रस्तुत गरेका भएपनि नेपाल आफैले विघटित कार्यदलका सदस्यहरुलाई चाडै नै विवाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुग्याउन आग्रह गरेका थिए ।
कार्यदलका साथीहरुलाई मैले भनेको छु संवादको विषय चाडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ, नेपालले भनेका थिए ।

तर यो बीचमा सुरेन्द्र पाण्डे, भीम आचार्यले झलनाथ खनाललाई भेटघाट गरे भने भीम रावलले ईश्वर पोखरेललाई भेटघाट गरेर पार्टी विभाजनबाट रोक्न पहल गरिरहेका छन् ।

नेपाल पक्षले वैकल्पिक पार्टी गठन गर्नुपर्ने स्थितिमा प्रस्तुत गर्नुपर्ने केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको नामलाई अन्तिम रुप दिने काम गरिरहेको छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र सातवटै प्रदेश सभाका सांसदहरुको सूची पनि तयार भइसकेका छन् । त्यससँगै पार्टीका दस्तावेजहरुको लेखनकार्य पनि अन्तिम चरणमा पुगेको छ । प्रेम आले, किसान श्रेष्ठ लगायतका नेताहरुलाई पनि नेपाल पक्षले उचित जिम्मेवारी दिने गरी तयारी थालेको छ ।

विवाद नमिल्दै पार्टी अध्यक्ष ओली एकलौटी रुपमा अघि बढेकै कारण नेपालले आफू निकट रहेका केन्द्रीय सदस्यहरुलाई फोनबाट वैकल्पिक शक्ति निर्माणको संकेतसहित तयारीमा रहन आग्रह गरेका छन् ।

माधव नेपाल पक्षलाई पार्टीभित्र कुनै पनि स्थान नदिई ओली एकलौटी रुपमा अघि बढेका छन्, सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षलाई ढोका बन्द भएको संकेत गरेका छन।

ओलीले आगामी भदौ २७ र२८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न मस्यौदा समिति समेत गठन गरेपछि पार्टी एकताको पक्षमा रहेका नेताहरु समेत चिढिएका थिए ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी अध्यक्ष केपी शर्मा ओली,सदस्यहरुमा बामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका थिए ।

त्यसैगरी संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी महासचिव ईश्वर पोखरेल सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पदमा अर्याल रहेका थिए ।

विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल, सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहेका छन् । त्यसैगरी व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापा, सदस्यहरुमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा रहेका थिए ।

यसरी एकलौटी ढंगले बैठक राखेपछि पार्टी एकताको ढोका बन्द भयो भन्ने नेपाल पक्षले बुझेका छन्। नेपाल समूहले पार्टी विभाजनलाई अघि बढाउनुको कुनै विकल्प नभएको ठानेका छन् । केन्द्रीय सदस्यहरु यज्ञराज सुनुवार, झपट रावललगायतका नेताहरुले एकता कठिन भएको महशुस गर्दै आएका छन् ।

नेपाल पक्षभित्रपनि एकताकै पक्षका रहेका नेताहरुले अझैपनि नेपाललाई वैकल्पिक शक्ति निर्माणका लागि अघि नबढ्न सुझाव दिएको भएपनि नेता नेपालले ओलीबाट अब अपेक्षा गर्ने ठाउँ सकिएको बताउँदै अघि बढ्ने संकेत गरेका छन् ।

नेपाल पक्षले अझै पनि केही समय कुर्न सकिन्छ कि भनेर समानान्तर कमिटी मात्रै बनाएको छ तर ओली पक्षबाट कुनै पनि पहल नभएपछि भने माधव नेपाल आफैले केन्द्रीय सदस्यहरुलाई फोन गरेर अब अघि बढ्ने जानकारी गराएको स्रोतको दावी छ ।

‘अहिले हामी देशव्यापी रुपमै समानान्तर कमिटी बनाएर अघि बढेका छौ, पार्टी विभाजन गर्नुपर्ने अवस्था आए त्यही कमिटीलाई नयाँ पार्टीमा रुपान्तरण हुन्छ’ स्रोतले भन्यो।