back
stc
prabhu insurance

नेपाल भाषामा एमफिल पिएचडी कक्षा सुरु: १५ जना विद्यार्थी भर्ना

काठमाडौँ । आजबाट नेपाल भाषामा एमफिल पिएचडी कक्षा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा केन्द्रीय विभागले मानविकी तथा समाजशास्त्र अन्तर्गत कक्षा सुरु गरेको हो ।

विभागमा एक कार्यक्रम आयोजना गरेर यससम्बन्धी जानकारी दिइएको हो । आजैबाट १५ जना विद्यार्थीले कक्षा सुरु गरेका छन् ।

विभागले नेपाल भाषामा स्नातकोत्तर विषयको पठनपाठन सुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिदास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ सहित विभिन्न शोधग्रन्थहरू सार्वजनिक गरियो ।

नेपाल भाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइजेसन गरेर ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कक्षा शुभारम्भ तथा पुस्तक सार्वजनिक गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्ने उम्मेदवारले अबको चुनावमा बिजय हासील गर्न नसक्ने बताउनुभयो ।

काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने भएकोले राजनीतिक र प्रशासनिक नेतृत्वको यतातिर ध्यान हुनु पर्ने उहाँको भनाइ थियो ।

आफ्नो नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले काठमाडौँको संस्कृति, सम्पदा र भाषा संरक्षणमा धेरै लगानी गरेको प्रमुख शाक्यको भनाइ छ ।

‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामी वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार रुपैयाँ, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार रुपैयाँ विशेष भत्ताको व्यवस्था गरेका छौँ । त्यस्तै पूर्व कुमारीका लागि मासिक १५ हजार रुपैयाँ, गणेश र भैरवका लागि मासिक १२–१२ हजार रुपैयाँको व्यवस्था गरेका छौँ ।

कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार दिने गरेका छौँ ।’ शाक्यले महानगरले मूर्त अमूर्त संस्कारको संरक्षणमा आफूले गरेका प्रयासका विषयमा जानकारी गराउने क्रममा नेपाल भाषा जोगाउन कक्षा १ देखि ८ सम्म नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके लागू गरेको बताउनुभयो ।

भाषासँगै मौलिकता जोगाउन काम थालिएको छ । अबको स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले यो प्रयासलाई अझ समृद्ध बनाउँदै लैजाने कुरामा मेरो विश्वाश छ । शाक्यले भन्नुभयो, ‘जसले यो मुद्दालाई बलियोसँग स्थापित गर्न सक्छ । अबको स्थानीय चुनावमा उसैले जित्छ ।’

कार्यक्रममा बोल्नु हुँदै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, विश्वमा नेपालको संस्कृति भनेर काठमाडौंको संस्कृति परिचित रहेको उल्लेख गर्नुभयो ।

नेवार समुदायले बचाउँदै ल्याएको मूर्त अमूर्त संस्कृतिसँग सम्बन्धित भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण काठमाडौँ महानगरको प्राथमिक काम हो । महानगरले कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठ््यक्रम यसको बलियो उदाहरण हो । उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयले मागका आधारमा, प्राविधिक र व्यवसायिक, बिज्ञान र निर्माण तथा माग नभएकार तर देशको पहिचानसँग जोडिएका विषय अध्यापनलाई प्राथमिकतामा राखेको बताउँदै त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले नेपाल भाषाको अध्यापनका लागि काठमाडौं महानगरपालिकाले गरेको सहयोगबाट धेरै काम गर्न सकिएको उल्लेख गर्नुभयो ।

नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठकाअनुसार ४१ बर्षको अवधिमा ५४३ जना विद्यार्थीले नेपाल भाषामा स्नातकोत्तर तहमा अध्ययन गर्न निवेदन दिएकोमा ३ सय जना उत्तीर्ण भएको जानकारी दिनुभयो । करीव २ सय जना विद्यार्थीले दोहो¥याएर तेहे¥याएर भर्ना गरेको बताउँदै उहाँले यस बर्ष साउने सत्रमा ४० जना विद्यार्थीको निवेदन परेको बताउनुभयो ।

पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरका अनुसार क्याम्पसमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न रहेका विविध चुनौतीको सामना गर्दै अध्ययन अध्यापन जारी गरिएको उल्लेख गर्नुभयो ।

आजदेखि सुरु भएको एमफिल पिएचडी पहिलो सत्रको पाठ््यक्रममा भाषा विज्ञान, नेपाल भाषा साहित्यया इतिहास, नेवा समाज वः संस्कृति, नेवा अर्थ राजनीति विषय राखिएका छन् ।
यसैगरी दोस्रो सत्रमा नेवाः शास्त्र, सांस्कृतिक अध्ययन, फाउन्डेसन फर रिसर्च फिलोसफी, रिसर्च डिजाइन, एकेडेमिक राइटिङ् विषय राखिएका छन् ।

विभागमा स्थापना हुने इलेक्ट्रोनिक लाइव्रेरीका लागि रकम छुट््याएको महानगरले नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यका सम्पूर्ण कृति समेटिएको सिंगो ग्रन्थ ‘सिद्धिमाः’ प्रकाशनको खर्च व्यहोरेको छ । विभागले प्रकाशन गर्ने नेपाल भाषाको जर्नल अङ्क ९ महानगरकै खर्चमा प्रकाशन हुनेछ ।