back
hangrilabank
himalayanlife
stc

मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रा. लि ले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्य सम्बन्धी नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्तरूपमा छापा मारेको हो ।

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चक्लेट, सोयाविन एवं बिस्कुटलगायतका करिब एक दर्जन जति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेबल गर्नेसहित दुई वटा भण्डारणस्थल (गोदाम) सिलबन्दी गरेर थप अनुसन्धानका लागि पुनःलेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद गरिएको छ ।

सो कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अगद नेपाल भेन्चरका सञ्चालक प्रभाव देव फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभागले काठमाडौँको सानो भर्‍याङस्थित समिट कमर्सियल प्रा.लिले कस्मेटिक तथा सवारीसाधन सफा गर्ने प्रयोग वस्तुमा नयाँ मिति राख्ने गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरी सञ्चालक सहित तीन जनालाई प्रक्राउ गरिएको थियो । पक्राउ परेका तीन जनालाई जनही रु १५–१५ लाख धरौटीमा रिहा गरिएको छ ।