राष्ट्रिय बाल दिवसका अवसरमा महानगरबाट बाल गृहलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । महानगरभित्र सञ्चालनमा रहेका विदेशी दाताहरुको सहयोग नलिएका बाल गृहमा गएर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सामाग्री प्रदान गर्नुभएको हो ।
यसरी सामाग्री दिइएका बाल गृहहरुमा वडा १२ टेकुको जन उद्धार सेवा समिति, वडा १९ रामघाटको एपीसी नेपाल, वडा १४ को बाल संरक्षण अभियान, वडा २६ को मातृभूमि महिला समाजसहित ७ वटा छन् ।
यस्तै वडा ३ महाराजगञ्जमा रहेको बहिराका लागि सहयोगी हातहरु, वडा ५ मा रहेको समुदाय वातावरण तथा बाल विकास संघ, वडा ३१ मा रहेको उज्यालो नेपालमा आश्रित बालबालिकालाई सामाग्री दिइएको थियो ।
सामाग्री हस्तान्तरणपछि उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले, बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै जीवन चलाउन व्यवहारिक शिक्षा पनि सँगै दिनुपर्ने बताउनुभयो ।
औपचारिक शिक्षाले रोजगारीका लागि र व्यवहारिक शिक्षाले जीवन व्यवस्थापन गर्ने सीप दिन्छ । उहाँले यसका लागि महानगरले आफ्नो दायित्व पूरा गर्ने बताउनुभयो । विदेशी दाताको सहयोग नलिई स्वदेशी तथा आफ्नै प्रयासमा बाल संरक्षणमा काम गर्ने संघसंस्थाहरुको पहिचान भएको छ । हामी सहयोग गर्छौँ । उपप्रमुखको भनाइ थियो ।
कार्यक्रममो शुरुवात वडा १२ को जन उद्धार सेवा समितिबाट भएको थियो । त्यस अवसरमा वडा १२ का अध्यक्ष विकास डंगोलले बाल बचाउ र बाल संरक्षणका लागि वडा तहबाट पनि प्रयास भएको उल्लेख गर्दै आफूले समन्वयकारी भूमिका खेलेर सामाजिक कामलाई प्रोत्साहन गरेको बताउनु भयो ।
महानगर आफ्नै ठाउँमा आएपछि अभिभावक आएको महसुस भएको छ । यसले हामीलाई सामाजिक काम गर्न प्रोत्साहन मिलेको छ । त्यस क्रममा बाल गृह सञ्चालकहरुले धारणा राख्नुभएको थियो ।
हरेक बर्षको भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउने गरिएको छ । सन् १९८९ मा जारी भएको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ तारिख अनुमोदन गरेको थियो ।
यसमा मुलत बाल विकास, बाल संरक्षण, बाल सहभागिता र बाल बचाउका विषय छन् । यस दिनलाई नेपालले राष्ट्रिय बाल अधिकार दिवसका रुपमा मनाउन थालेको ३१ बर्ष भएको छ ।
वि.सं.२०७८ भदौ २६ १६:३६