back
prabhu insurance
himalayanlife

साइबर सुरक्षा जोखिमपछि राजस्व अनुसन्धान विभागको VCTS प्रणाली बन्द

काठमाडौं । PHP प्रविधिमा देखिएका गम्भीर साइबर सुरक्षा कमजोरीका कारण अर्थ मन्त्रालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले आफ्नो भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (VCTS) अस्थायी रूपमा बन्द गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट २०८३ कात्तिक ५ गते PHP तथा यससँग सम्बन्धित प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएको जानकारी प्राप्त भएको थियो। उक्त कमजोरीको दुरुपयोग गरी साइबर आक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागअन्तर्गत सञ्चालनमा रहेको VCTS प्रणाली अस्थायी रूपमा बन्द गरिएको हो।

विभागले आवश्यक सुरक्षा अद्यावधिक गरी प्रणाली सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने जनाएको छ। प्रणाली बन्द रहे पनि सेवाग्राही तथा सरोकारवालालाई आवश्यक कागजात सुरक्षित राख्न विभागले आग्रह गरेको छ। सूचनाअनुसार हाललाई प्रचलित नियमानुसार जारी भएका बिलबिजक लगायतका कागजात साथमा राखी कारोबार तथा मालसामान ढुवानी गर्न सकिनेछ।

VCTS प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले ढुवानीसम्बन्धी विवरण प्रणालीमा नियमानुसार यथाशीघ्र प्रविष्ट गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने विभागले जनाएको छ।

PHP वेबसाइट तथा विभिन्न अनलाइन सेवा सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिने गम्भीर सुरक्षा कमजोरीको फाइदा उठाउँदै आक्रमणकारीले प्रभावित सर्भरमा अनधिकृत रूपमा कोड सञ्चालन गर्न सक्ने जोखिम रहन्छ। यस्तो जोखिमबाट सरकारी प्रणाली तथा डिजिटल सेवाहरू प्रभावित हुन सक्ने भएकाले सुरक्षा अद्यावधिक र जोखिम नियन्त्रणलाई प्राथमिकता दिइएको हो।