back
stc
prabhu insurance

कमलपोखरी पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न:  प्रमुख शाक्यबाट निरीक्षण

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगति निरीक्षण गर्नु भएको छ । प्रमुख शाक्यले सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठ र वडा सदस्यहरु सहित निरीक्षणका लागि पुग्नुभएको थियो ।

अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ । यस चरणमा करीब ९५ प्रतिशत काम सम्पन्न भएको छ । पोखरीमा टनाटन पानी भरिएको छ ।

पोखरीको निरीक्षणका सिलसिलामा प्रमुख शाक्यले, अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताउनुभयो ।

छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने प्रमुख शाक्यको भनाइ छ ।
‘सबैले रानीपोखरी मात्रै देखेका छन् । हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजना सहित अघि बढेका छौँ ।

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण भइरहेको हो ।’ प्रमुख शाक्यको भनाइ छ ।
आकाशे पानी संकन र पुनभरण तथा पानी शुद्धिकरण गर्ने योजना सहित पोखरीको पुननिर्माण भइरहेको छ ।

पहिला बेबारिसे र फोहोर जमेको पाखरी अब परम्परागत, सांस्कृतिक र पर्यकटीय स्थल हुनेछ । प्रमुख शाक्यले झिँगटीको छानामुनिको मण्डपबाट टनाटन पानी भरिएको कमलपोखरीतिर देखाउँदै भन्नुभयो, पुननिर्माणको दोस्रो चरणमा यस अघि प्रहरी रहेको ठाउँमा सुन्दर पार्क निर्माण गरिनेछ ।

उहाँले कमलपोखरीजस्तै महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको संरक्षण र प्रवर्धन गर्ने बताउनुभयो । यसका लागि संघीय र प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श गरिएको उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरुप पुननिर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् ।

करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तु शास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो ।

पोखरी निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा छन् । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।
यसको व्यवस्थापनका लागि मासिक करीब १ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले, पुननिर्माणपछि वडालाई हस्तान्तरण गर्नुअघि महानगरले यस विषयमा ध्यान दिनेछ भन्ने अपेक्षा गर्नुभयो ।

सहरी पूर्वाधार विकास विभागका इञ्जिनियर प्रेम श्रेष्ठकाअनुसार प्रवेश द्वार, शौचालयको केही भाग र रंगरोगनलगायतका थोरै काम बाँकी रहेको जानकारी दिनुभयो ।

पोखरी पुननिर्माणको काम कँडेल निर्माण सेवा कम्पनीले गरिरहेको छ । यसका लागि भक्तपुर र ललितपुरको बुङमतीबाट अनुभवी कामदारको सीप प्रयोग गरिएको छ ।