back
stc
prabhu insurance

दुई सहायक रथीलाई उपरथीमा बढुवा सिफारिस

काठमाडौं । नेपाली सेनाका दुई सहायक रथी बाबुराम श्रेष्ठ र ईश्वरकान्त मैनालीलाई उपरथी बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालयले उनीहरूको नाम उपरथी बढुवाका लागि सिफारीस गरेपनि मन्त्रिपरिषदले निर्णय गर्न भने बाँकी रहेको छ।

सहायकरथी श्रेष्ठ विगतमा सैनिक ऐन अनुसार कारवाही भोगेका जर्नेल हुन्। उनलाई सैनिक अनुशासन उल्लंघन गरेको अभियोग लगाएर २७ बाहिनीमा कारबाही गरी नसियत गरिएको थियो । श्रेष्ठलाई २७ बाहिनीको बाहिनीपति हुँदा आफ्नो क्षेत्रका बासिन्दालाई ल्याएर सेनामा भर्ना फारम भर्न लगाएको भन्दै नसियत दिइएको थियो।

श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन्। उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन्। उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्यरत छन्।

हालका प्रधानसेनापति प्रभुराम शर्माले भने उनको बढुवा सिफारीस गरेपछि श्रेष्ठलाई न्याय मिलेको छ। श्रेष्ठको व्याचका सहदेव खड्का, विनय विक्रम राणा र सन्तोष ढकाल तीन जना उपरथी भइसकेका छन्।

त्यसैगरी सहायकरथी इश्वरकान्त मैनालीको नाम पनि उपरथीमा बढुवाका लागि सिफारीस भएको छ। पश्चिम कमाण्डमा कार्यरत मैनालीको भर्खरै उपत्यका कमाण्डमा सरुवा भएको छ। उनलाई अवकासमा जानुअघि विशेष निर्णय गरेर सम्मानस्वरुप उपरथीमा बढुवा दिने निर्णय भएको बुझिन आएको छ।