back
stc
prabhu insurance

एमालेका ठग पुर्वसांसद तामाङ पक्राउ

काठमाडौं । सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लि. का अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । उनी नेकपा (एमाले) का संविधान सभाका पुर्व सांसद हुन।

केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट गत सोमबार अपरान्ह नियन्त्रणमा लिएको छ । ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहले निक्षेपकर्ताका तर्फबाट जाहेरी परेपछि तामाङलाई पक्राउ गरिएको बताएको छ । उनका अनुसार हाल ब्यूरोमा ४६ करोड रुपैयाँ फिर्ता नगरेको जाहेरी परेको हो ।

संस्थाको दुई कार्यकाल अध्यक्ष रहेका इच्छाराज तामाङले बचतकर्ताहरुको रकम आफूले चलाएर हिनामिना गरेको आरोपपछि उनी फरार थिए । तामाङले संस्थाको ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ आफ्नो निजी पैसा जस्तो गरी चलाएर हिनामिना गरेका छन् ।

आकर्षक ब्याज दिने प्रलोभनमा पारेर संस्थाले निक्षेपकर्ताबाट रकम उठाएको थियो । बजारमा चलेको भन्दा बढी ब्याज दिने भएपछि धेरै व्यक्तिले लाखौं रुपैयाँ संस्थामा राखेका थिए ।

त्यसमाथि १५ लाख रुपैयाँसम्म राखेमा अपार्टमेन्ट लगायत पाउने प्रलोभनमा पारिएको एक पीडितले बताए । त्यस्तो रकम ३ वर्षसम्म चलाउन पाइँदैनथ्यो, दुःख गरी कमाएको रकम अहिले पाउन नसकेर सास्ती खेप्नु परेको छ ।

निक्षेपकर्ताको रकम हिनामिना भएपछि पीडितहरुले संघर्ष समिति गठन गरेर निरन्तर आन्दोलन तथा सम्बन्धित निकायहरुमा उजुरी गरिरहेका छन् । तर, पनि उनीहरुको समस्या समाधान हुन सकेको छैन ।

निक्षेपकर्ताहरुको भीड लागेपछि संस्थाले १० र १५ हजार गरेर रकम फिर्ता गर्न थालेको थियो । एउटै व्यक्तिले करोडसम्म राखेका छन्, केही हजार रुपैयाँ किस्तामा पाएर कहिले त्यत्रो रकम फिर्ता पाउने गर्ने हुन।

संस्थामा अवकाशप्राप्त कर्मचारी, बुढाबुढी, बिरामीलगायतले रकम जम्मा गरेका थिए । कति जना बचतकर्ता ६५ देखि ९५ वर्षसम्मका छन् । कति जना बचतकर्ता बिरामी भएको बेला अपरेसन गर्न र औषधि खरिद गर्न नपाएर मरिसके ।

ओखलढुंगामा जन्मिएका तामाङ नेकपा एमालेका पूर्व सभासद समेत हुन् । रियलस्टेट कारोबारीका रुपमा परिचित तामाङको बैंक, सहकारी, मल, अपार्टमेन्ट लगायतमा लगानी छ ।

अध्यक्ष तामाङले सिभिल ग्रुपद्वारा प्रवर्द्धित सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्ना तीन कम्पनीका लागि उक्त ऋण लिएका थिए । सहकारीमा दुई हजार ६ सय ९० सदस्य छन् ।

सहकारीको आ.व. २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रा.लि., सिभिल अपार्टमेन्ट प्रा.लि., सिभिल इस्टेट प्रा.लि. मा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरिएको छ ।

तर, अहिले निक्षेपकर्ताले पैसा माग्दा रकम डुबेको बहाना बनाउने गरिएको एक पीडितले बताए । सिभिल होम्स लगायतमा रकम डुबेको छ, पैसा उठाएर दिन्छौं भनेर टार्ने गरिएको छ।

सम्पत्ति शुद्धीकरणको रोक्का

२०७६ माघमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङको सम्पत्ति छानबिनका लागि रोक्का गरेको थियो । धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का गरिएको बताइएको छ ।

अनुसन्धानको क्रममा विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको थियो । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत विभागले रोक्का राखेको थियो ।

सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत तिरिएको छैन । उनले श्रीमतीको नाममा संस्थापक सेयर नेपाल राष्ट्र बैंकको नियमविपरीत करिब १० करोड रुपैयाँ बराबरको बिक्री गरेका थिए । श्रीमान् सिभिल बैंक लि. कै अध्यक्ष भएको अवस्थामा सो सेयर बिक्री गर्न नपाइने व्यवस्था छ ।

तामाङले सहकारीबाट लिएको ऋण सिभिल होम्समा लगानी गरेका हुन् । सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ सिभिल होम्सको सञ्चालको पदमा छन् । तामाङ र श्रेष्ठ नाताले भान्जी ज्वाइँसमेत हुन्, जसका कारण तामाङलाई सहकारीको पैसा चलाउन सहज भएको थियो ।

यसबीचमा सहकारी नै आंशिक बन्द हुने, अदालतमा मुद्दा पर्ने, विभिन्न निकायबाट छानबिन हुने लगायतका प्रक्रिया भए पनि पीडितहरुले भने अहिलेसम्म आफ्नो रकम पाएका छैनन् । आर्थिक संकटमा परेपछि तामाङले आफ्नो सम्पत्ति विक्री गर्न थालेका थिए ।

उनले सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउन छेउको जेडीए कम्प्लेक्स बिक्री गरेका थिए ।

तामाङले उक्त सम्पत्ति १ अर्ब ३० करोड रुपैयाँमा व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरेका हुन् । अपार्टमेन्ट विक्री हुन नसकेपछि सिभिल ग्रूपले होटल बनाउने तयारी गरेको थियो ।

तर, होटलमा थप लगानी गर्न नसकेपछि तामाङले सस्तो मूल्यमै जेडीए कम्प्लेक्स बिक्री गरेका हुन् । कम्प्लेक्स रहेको ६ रोपनी जग्गामा १२ तलाको अपार्टमेन्ट छ ।

सम्पत्ति बेचे पनि तामाङले पीडितको रकम भने नदिई भागीभागी हिँडिरहेका थिए । उनलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि निकायले सकिरहेको थिएन् ।