back
prabhu insurance
himalayanlife

राहदानी बनाउनेको भीड

काठमाडौँ । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उहाँले भन्नुभयो, “दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।”

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् ।

आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट