back
prabhu insurance
himalayanlife

भारतीय सेनाको उच्चस्तरीय टोली भोली नेपाल आउने

काठमाडौं । भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जनाको एक टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ । भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्‍चालित नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको भारतीय उच्च रक्षा स्रोतले जानकारी दिएको छ। यो ३९ सदस्यीय टोलीले भोली असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्नेछ।

उक्त टोलीले प्रधानमन्त्री शेर बहादुर देउवा, रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्र मन्त्री डा. नारायण खडकासँग शिष्टाचार भेटघाट गर्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार रक्षा टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्‍वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन्।

यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमण लगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छिमेकी मित्र राष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको नेपाली सेनाले लिएको जनाएको छ।