back
hangrilabank
himalayanlife
stc

नेपाल आयल निगम मासिक ४ अर्ब ४४ करोड घाटामा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य र डलरको भाउ आकासिए पछि अक्टोबरमा नेपाल आयल निगम लि.को मासिक रुपमा हुने नोक्सानी इतिहासकै सबैभन्दा बढी हुने देखिएको छ।

इन्डियन आयल कर्पोरेशनले शनिबार पठाएको मूल्य अनुसार निगमको नोक्सानी १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ हुने अनुमान रहेको छ। यो आधारमा निगमको मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुने देखिन्छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अक्टोबर महिनाको नोक्सानी इतिहासकै सबैभन्दा बढी हुने बताएका छन्। निगमको इतिहासमा महिनाको साढे चार अर्ब नोक्सानी अहिलेसम्म भएको थिएन। निगमले समयमै मुल्य बृद्विको निर्णय लिन सकेन भने आपूर्ति व्यवस्थामा गम्भीर असर पर्न सक्छ।

आइतबार ब्रेन्ट क्रुड आयलको मूल्य ८४. ८६ डलर छ। त्यसमा पनि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ एप्रिसेसन भएर एक डलर बराबर १ सय २० रुपैयाँ ७२ पैसा पुगेको छ।

पछिल्लो मूल्य अनुसार निगमलाई पेट्रोलमा १५ रुपैयाँ १ पैसा, डिजलमा १४ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा ४ रुपैयाँ ५६ पैसा र एलपीजी ग्यास एक सिलिण्डरमा ५ सय ११ रुपैयाँ नोक्सानी पुगेको छ।

यो आधारमा निगमलाई १५ दिनमा पेट्रोलमा ४० करोड ५३ लाख, डिजलमा १ अर्ब ९ करोड र ग्यासमा ७५ करोड ७० लाख नोक्सानी हुनेछ। अन्तर्राष्ट्रिय बजारका कारण निगम थेग्नै नसक्ने नोक्सानी भएपछि सरकारले तत्कालै विकल्प सोच्नुपर्ने देखिन्छ।

नेपालमा पेट्रोल लिटरमा ४८ रुपैयाँ सस्तो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि लगातार भारतले मूल्य समायोजन गर्दै आएको छ। तर नेपालमा भने अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन भएको छैन्। जसका कारण भारतमा भन्दा नेपालमा पेट्रोल ४८ रूपैयाँ र डिजल लिटरमा ५३ रुपैयाँ सस्तो छ।

यही सस्तो भएका कारण भारतबाट तेल भर्न नेपाल आउनेको संख्या दैनिक बढ्दो छ। सीमावर्ती क्षेत्रका वासिन्दा नेपाल आएर तेल भर्न थालेका छन् जसका कारण भारतका पेट्रोल पम्प सुनसान हुँन थालेका छन्।

भारतको अधिकांश सहरमा पेट्रोल १८० रुपैयाँको हाराहारीमा पुगिसकेको छ। तर नेपालमा पेट्रोलको मूल्य १ सय ३० रुपैयाँ मात्रै छ।

त्यही भएर अहिले भारतीयहरु मोटरसाइकल र गाडी लिएर नेपालको पम्पमा तेल भर्न आउने गरेका छन्। सर्लाहीको मंलगवाको एउटा नेपाली पेट्रोल पम्पमा भारतीय मोटरसाइकल र गाडीको लाइन भेटिएको छ।

दशैंको समय भएर यो भीड कम भएको हो। अरु बेलामा भारतीय गाडीको लाइन अझ ठूलो हुने देखिन्छ । निगमको तथ्यांकले समेत सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको माग उच्च भएको देखाउँछ। अहिले दैनिक पेट्रोल ४ हजार किलोलिटर र डिजल ७ हजार किलोलिटर रहेको छ।

कोभिड अघि पनि सामान्य समयमा पेट्रोल २५ सय किलोलिटर र डिजल ५ हजार किलोलिटर मात्रै माग हुन्थ्यो । प्रवक्ता उपाध्यायका अनुसार कोभिड कम हुँदै गएपछि भारतीय गाडी आउजाउँ गर्न दिएपछि तराई क्षेत्रमा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ।

गाडी सहित नेपाल घुम्न आउन खुला गरेपछि पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ। यो क्रम अझै बढ्ने देखिएको छ। जति माग बढ्छ त्यति निगमको नोक्सानी माथि जानेछ । त्यही भएर निगमको डिपोहरुलाई सीमामा रहेका पम्पलाई पहिलाको मागकै आधारमा मात्रै तेल दिन निगम व्यवस्थापनले निर्देशन दिएको छ।

यसको विकल्प के ?

सरकारका लागि तेल आपूर्ति सहज बनाउन तीन विकल्प छन्। तेलको मूल्य बढाउने, मूल्य स्थिरीकरण कोषमा भएको रकम चलाउने वा पूर्वाधार कर घटाउने तीन विकल्प अगाडि बढाउन सक्छ। पहिलो विकल्प नोक्सानी अनुरुप मूल्य बढाउन सक्ने अवस्थामा सरकार छैन।

पेट्रोल, डिजल र ग्यासमा भएको नोक्सानी अनुसार मूल्य बढाएमा सरकारमाथि ठूलो दबाब पर्नेछ, ढुवानी भाडा बढने छ। दोस्रो विकल्पमा बुढीगण्डकीको नाममा लिन थालिएको र अहिले पूर्वाधार करमा रुपान्तरण गरेर लिटरमा १० रुपैयाँ घटाउनेतर्फ सरकारले ध्यान दिन सक्छ।

पूर्वाधार कर लिटरमा पाँच रुपैयाँ घटाउने, पेट्रोल र डिजलमा लिटरमा १० रूपैयाँ मूल्य बढाउने र मूल्य स्थिरीकरण कोषको रकम प्रति लिटर १५ रूपैयाँ प्रयोग गर्ने विकल्प सरकारका लागि उत्तम देखिने निगमका एक कर्मचारी बताउँछन्।

यो विकल्पमा अघिल्लो केपी शर्मा ओलीको सरकार कन्भिन्स भएर प्रक्रिया अगाडि बढाएको थियो। पूर्वाधार कर घटाउँदा राजस्व असुली भने प्रभावित हुनेछ । पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात हुने वस्तुमा पर्छ। निगमले पूर्वाधार कर वाहेक सरकारले भन्सार महसुल पेट्रोलमा २५.२० रूपैयाँ , डिजेलमा २० रूपैयाँ लिने गरेको छ। त्यसको अतिरिक्त सडक मर्मत सम्भार शुल्क ४ रुपैयाँ, प्रदूषण शुल्क डेढ रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा लिटरमा १.१० रूपैयाँ र भ्याट १३ रुपैयाँ लिने गरेको छ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो केही दिनदेखि लगातार बढेको छ। यससँगै भारतीय शहरहरुमा पेट्रोलको मूल्य लिटरको १८० रुपैयाँ ९भारु १११.८४० हाराहारी पुगेको छ।

पछिल्लो १५ महिनायता भारतमा पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले बृद्वि भएको छ। सोही क्रम पछ्याउँदै गत बिहीबारदेखि पुनः इन्‍धनको मूल्य निरन्तर बढिरहेको छ।

यससँगै भारतको मुम्बईमा आइतबार पेट्रोलको मूल्य लिटरको १११.७७ भारु (नेरु १७८.८३) र डिजेल प्रतिलिटर १०२.५२ भारु पुगेको छ । भोपाल, इन्दोर, औरङ्गावाद, जयपुर लगायतका शहरमा अझ पेट्रोल लिटरको ११४.४९ भारु (नेरु १८३.१८ ) सम्म पुगिसकेको छ।