back
stc
prabhu insurance

काठमाडौंमा ११ वटा आकाशेपुल बन्ने तर कहिले बन्ने ?

काठमाडौं । उपत्यकामा दिनप्रति दिन ट्राफिक व्यवस्थापन ठुलो समस्या बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशेपुलको आवश्यकता दिनप्रति दिन बढेको छ । सोही आवश्यकता महशुस गर्दै काठमाडौं महानगरपालिकाले अहिले सहरको विभिन्न चोकहरुमा आकाशेपुल निर्माण गर्ने योजनालाई प्राथामिकताका राखेको छ ।

काठमाडौंमा आकाशेपुलको विकास पहिलो पटक २०४० सालमा भएको थियो । तत्कालीन नगर विकासले आकर्षकद्वार सहितको २ वटा पुल सुन्धारा र नेपाल विद्युत् प्राधिकरण अघि बनाएको थियो ।

भोटाहिटिमा अण्डर ग्राउन सब वे पनि बनाएको थियो। जो अहिले पनि प्रयोगमा रहेको छ। भद्रकाली देखि सिंहदरवार गेटसम्म पुलको माथि सवारी साधन चल्छन,साथै पुलमुनि गोदाम घर सञ्चालनमा छ।

उपत्यकाको सडकमा अतिआवश्यक स्थानमा पनि आकाशेपुल नहुँदा पैदल यात्रुहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ । पैदलयात्रुले जथाभावी बाटो काटदा सवारी दुर्घटना र जाम बढेको छ। आकाशे पुल नभएका कारण वर्षेनी सयौंको संख्यामा पैदल यात्रुहरुले ज्यान गुमाइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको तथ्यांक हेर्दा विगत ४ वर्षको अवधिमा २५६ जना पैदल यात्रुको मृत्यु भएको छ भने ४ हजार २ सय १० जना घाइते भएका छन् ।

यो समस्या समाधानको विकल्प भनेको आकाशे पुल वा भुमिगत सब वे निर्माण गर्नु नै हो।
उपत्यकाभित्र अहिले ४७ वटा आकाशे पुल सञ्चालनमा छन् । उपत्यकाका मुख्य–मुख्य चोकमा आकाशे पुल भएमा पैदल यात्रुको ज्यान जोगिने छ।

महानगरपालिकाले काठमाडौंमा आकाशे पुल अरु पनि थप्ने तयारी गरिरहेको छ । यहीअनुरुप नयाँ बानेश्वर, चाबहिल, जयवागेश्वरी र माइतीघरमा पुल निर्माणको काम भैरहेकोमा बानेश्वरमा संचालन भएको छ भने अन्यमा काम रोकिएको अवस्था छ ।

महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुख राम थापाका अनुसार ट्राफिक प्रहरीको अनुरोधमा कालीमाटी चोक, सोह्रखुट्टे चोक, महाराजगञ्ज, कोटेश्वर, चाबहिल चुच्चेपाटी, मित्रपार्कलगायतका ११ ठाउँमा आकाशेपुल बनाउने योजना स्वीकृत भइसकेको छ ।

जयवागेश्वरीको आकाशेपुल निर्माण रोकियो

काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर जाने जयवागेश्वरीमा बनाएको आकाशेपुल पनि फलामको खम्बा मात्रै ठडिएको देखिन्छ । लामो समय बितिसक्दा पनि काम अगाडि बढेको छैन । ठडिएको फलाममा खिया लागेको देखिन्छ । खम्बामा झार पलाएका छन् । पैदल यात्रुलाई हिँड्ने सडक पेटी ध्वस्त पारिएको छ । न हिँड्न मिल्छ, न पुल नै बन्यो ।

महानगरपालिकाले ७७ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्न लागेको छ । कोरोना महामारी सुरु हुनुअघिसम्म महिनामा लाखौं मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका थिए । साउन महिना, तीज, बालाचतुर्दशी, महाशिवरात्रिजस्ता पर्वमा एकै दिन लाखौं भक्तजन यही बाटो भएर पशुपतिनाथ मन्दिर गएका थिए।

धेरै मानिस ओहोरदोहोर गर्ने स्थानमा आकाशेपुल नहुँदा दुर्घटनाको जोखिम बढेको देखिन्छ । समयमा पुल नबन्दा त्यही ठाउँबाट सडक पार गरी पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजन र हिँड्ने पैदल यात्रुलाई सँधै जोखिम रहेको छ ।

महानगरपालिकाका शहरी पूर्वाधार विभाग प्रमुख राम थापाले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार व्यवस्थित नगरी दिएकाले काम रोकिएको बताएका छन् । उक्त क्षेत्रमा ११ हजार भोल्टेजको बिजुली तार र पोल भएकाले काम गर्न कठिन भएको महानगरपालिकाको भनाइ छ ।

विधुत तार भूमिगत गर्न १२ लाख रुपैयाँ बजेट लाग्ने लागत स्टमेट अनुमान गरिएको थियो, त्यसका लागि बजेटको पनि व्यवस्थापन भइसकेको छ, तर दुई वर्षदेखि आकाशेपुल अलपत्र बनेको छ ।
पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेको छ।

महानगरपालिकाले ‘साइड क्लियर’ नभइ ठेक्का गर्दा २ वर्षदेखि पुल अलपत्र भएको छ । अलपत्र आकाशेपुलका कारण पैदलयात्रुलाई हिँड्नसमेत असहज हुने गरेको छ ।

एकातिर अलपत्र पुल र अर्कोतिर फलामलगायत केही अप्ठ्यारा निर्माण सामग्री थुपार्दा पैदलयात्रीलाई अप्ठ्यारो भएको देखिन्छ । निर्माण सामग्रीकै कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानिय बताउँछन् ।

ती तार भूमिगत भएपछि मात्रै पुल बनाउन सकिने अवस्था छ । पुरानो बानेश्वरमा रहेको प्राधिकरण कार्यालयलाई तार भूमिगत गर्न पटक–पटक अनुरोध गर्दा करिब १२ लाख रूपैयाँ तार भूमिगतका लागि सो कार्यालयले खर्च मागेको छ।

प्रमुख थापाले महानगर उक्त रकम दिन पनि तयार भयो, काम सकेपछि भुक्तानी गर्छौ भन्दा पनि मानेन। तत्कालै भुक्तानी गर्नलाई लेखामा फाईल बुझाएकोमा स्वीकृति भएर फाईल आयो । तर, प्रधिकरणले काम गर्न मानेको छैन । थापाका अनुसार प्राधिकरणलाई पैसा दिएपछि तार व्यवस्थित गर्ने काम तत्कालै थाल्नका लागि ताकेता गरेको छ ।

दशैं आसपासमा रोकिएको काम तार भुमिगत भएपछि पुनः शुरु हुने उनले बताएका छन । उक्त पुल निर्माणका लागि अब जम्मा २० दिन भन्दा धेरै समय नलाग्ने पनि थापाले जानकारी दिएका छन।

जोरपाटी चोकमा आकाशे पुल निमार्ण गर्ने योजना कागजमा मात्रै सीमित

जोरपाटी चोकमा आकाशे पुल निमार्ण गर्ने योजना पनि अघि बढन सकेको छैन । गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक योजना तथा कार्यक्रममा बढी चहलपहल हुने जोरपाटी चोकमा आकाशेपुल निमार्ण गर्ने योजना अघि बढाएको थियो । यसका लागि नगरपलिकाले २ करोड रुपैयाँ बजेट पनि विनियोजन समेत गरेको छ ।

पुल बन्ने खबरले स्थानीय र पैदल यात्रु केहि हदसम्म खुशि पनि भएका थिए । तर, उक्त योजना कागजमा मात्रै सीमित रहेको छ । नगरप्रमुख सन्तोष चालिसे लगायतका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि आकाशे पुलका लागि जोरपाटी चोकमा जग समेत खनिएको छैन । जनप्रतिनिधिले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ ।

पुल नबने पनि नगरपालिकाले बर्सेनि नीति तथा कार्यक्रममा भने उक्त पुल बनाउने योजना समावेश गर्ने गरेको छ । नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुङ्गनाले पुल निर्माण गर्न डिजाइन तयार भैसकेको जानकारी दिँदै अब तत्कालै काम थाल्ने बताएका छन् । ‘बर्षाका कारण काम रोकिएको हो । अब तिहार पछि लगतै काम शुरु हुन्छ,’ उनले भने ।

कोटेश्वर चोकमा ठेक्का सम्झौतामा अड्कियो

डिभिजन कार्यालय काठमाडौंले कोटेश्वर चोकमा पनि पैदल यात्रुको सहजताका लागि आकाशेपुल बनाउने योजना अघिसारेको थियो । सोही अनुरूप पुल निर्माण गर्न प्राकृतिकरपवनरजेभीले नै २०७५ साल चैत २५ गते दुई करोड ८९ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको थियो ।

सम्झौतामा २०७६ पुस मसान्तसम्म पुल ठड्याइ सक्नुपर्ने उल्लेख थियो । तर सम्झौताअनुसार काम नभएपछि २०७७ पुस मसान्तभित्र काम सक्ने गरी पुनः सम्झौता भयो । तर, यो अवधिमा पुल बनेन। हालसम्म पुलका लागि जग समेत खनिएको देखिँदैन ।

सडक डिभिजन कार्यालय काठमाडौंका एक इन्जिनियर भन्छन्, ‘पुल निर्माणको ठेक्का लागेपनि स्थानीयले बनाउन नदिएपछि विवाद उत्पन्न भयो, त्यसैले त्यहाँ अहिलेसम्म पनि काम थाल्न सकिएन ।’ उनका अनुसार स्थानीयले बनाउन नदिएपछि बबरमहल वा जुन भीडभाड हुने ठाउँ छ, त्यहाँ पुल बनाउने योजना बनेको छ ।

‘कोटेश्वरमा बनाउने पुल अब कुन ठाउँमा बनाउने भन्नेबारे छलफल भैरहेको छ, टुंगो लागेपछि काम थाल्ने बताइएको छ।अब कोटेश्वरमा आकाशेपुल बन्छ या बन्दैन त्यो अन्यौलमा परेको छ ।

माइतीघरको आकाशेपुलमा पनि तारको समस्या

पुरातत्व विभाग अगाडी रहेको आकाशेपुल संचालन भएको झण्डै एक वर्ष वितिसकेको छ । यस पुल माथि रहेको नेपाल विद्युत् प्राधिकरण र टेलिकमले अहिले सम्म तारको समस्या हटाउन मानेका छैनन् ।

यसमा रहेको तार हटाउन तथा भुमिगत गर्न महानगरपालिकाको शहरी पूर्वाधार विभागले पुल बन्नुभन्दा अघिदेखि ताकेता गर्दै आएको छ।

अहिले पुल संचालन भएपनि तार व्यवस्थापन नहुँदा जोखिम रहेको थापाको भनाइ छ । ‘तार पुलको नजिकै रहेका कारण कति खेर के हुन्छ भन्न सकिने अवस्था छैन। हामी आफैले तार हटाउन नमिल्ने, उहाँहरुलाई भन्दा त्यही हिसाबले लिदिनु हुन्न ।’ उनले भने।

नयाँबानेश्वर चोकमा निर्माण भएको आकाशेपुल संचालनमा

लामो समयदेखि निर्मार्णाधिन रहेको नयाँबानेश्वरको आकाशेपुल अहिले संचालनमा आएको छ । काठमाडौं सडक डिभिजन कार्यलयका प्रमुख कुवेर नेपालीका अनुसार काठमाडौंको सबै भन्दा ब्यस्त चोक नयाँबानेश्वरमा ३ वर्ष पछि आकाशे पुल संचालनमा आएको छ ।

यो चोकमा साँझ–बिहानको कार्यालय समयमा बाटो काट्न यात्रुले सास्ती खेप्दै आएका थिए तर अब भने त्यो सास्ती भोग्नु नपर्ने भएको छ । अफिस समयमा यो चोकमा झण्डै ७ मिनेट जति बाटो काट्नमै लाग्ने गरेको आम नागरिकले बताउदै आएका छन । हाल त्यो समयको बचत समेत हुने भएको छ ।

यो आकाशेपुल सार्न मिल्ने

यो आकाशेपुल सार्न मिल्ने खालको छ । अत्याधुनिक तरिकाबाट चोकहरू सुधार गर्ने, अन्डरग्राउन्ड बनाउने योजना आयो भने पनि उठाएर अर्को ठाउँमा प्रयोग गर्न मिल्छ। स्टिल भएकाले त्यसलाई अर्को ठाउँमा सजिलै लैजान सकिन्छ ।

कहिलेकाहीँ विभिन्न कारणले बनिसकेको ठूलो पुल यसै भत्काउनुपर्ने अवस्था आउन सक्छ । बाटो विस्तार हुँदै छ । यस्तोमा कुनै ठाउँको पुलको अवस्थिति नमिलेर भत्काउनुपर्ने हुन सक्छ । तर, यसलाई भत्काउनु पर्दैन।

उपत्यकामा नयाँ तीन ठाउँमा आकाशेपुल बन्ने

सरकारले उपत्यकामा ट्राफिक नियन्त्रण र आम नागरिकको सुरक्षाका लागि भनेर आकाशेपुलको निर्माण कार्यलाई तिब्रताका साथ अगाडी बढाएको छ । यसै सिलसिलमा काठमाडौं उपत्यकाले नयाँ तीन वटा आकाशे पुल निर्माण गर्ने भएको छ ।

जसका लागि अहिले काठमाडौं महानगरपालिकाले ठेक्कामा हुने मूल्याङकनको प्रक्रिया पुरा गरिरहेको छ ।

मित्रपार्कमा रहेको काठमाडौं महानगरपालिका वडा न। ८ को कार्यालय अगाडी नयाँ आकाशेपुल निर्माण गर्न लागको महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बताएका छन ।

यस क्षेत्रमा बन्न लागेको आकाशेपुल लागि १ करोड रूपैयाँ बजेट छुट्याइको छ। अहिले ठेक्काको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ ।

अर्को चाबहिल नजिकै रहेको धोवि खोला र ओम हस्पिटलको अलि माथि पट्टि आकासेपुल निर्माण हुनेछ । यस क्षेत्रमा बन्न लागेको आकाशे पुल बानेश्वरमा रहेको आकाशे पुलको जत्रै लम्बाई रहेको हुनेछ। यसका लागि झण्डै साँढे १ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यसको पनि अहिले टेण्डर भएर ठेक्काको मूल्याङ्कन प्रक्रियामा रहेको छ

त्यस्तै विष्णुमति जोड्ने सडक शोभा भगवतीमा पनि आकाशेपुल निर्माण गर्न लागेको छ । यसका लागि भने हाल योजना तथा डिजाईनको काम सकिएको छ ।

यस क्षेत्रमा पनि अत्याधिक मानिसहरुको चाँप हुने गरेको देखिन्छ । मानिसको र सवारी साधनको चाँपले गर्दा यस क्षेत्रमा ट्राफिक जामलगायत दुर्घटनाको जोखिम बढेकाले आकाशेपुलको निर्माण गर्न लागिएको हो ।

यो आकाशे पुल निर्माणको लागि लगभग १ करोडको बजेट छुट्याईएको थापाले बताए । अहिले यसका लागि ठेक्काको मूल्याङ्कन प्रक्रियामा रहेको पनि उनले जानकारी दिएका छन।

यी तीन वटै आकाशेपुलको निर्माण कार्यका लागि ठेक्काको मूल्याङ्कन तिहार अघि नै सकिने र तिहारपछि लगतै काम शुरु गर्ने पनि प्रमुख थापाले बताए ।

यस्ता आकाशेपुल निर्माण हुदाँ उपत्यकामा हुने ट्राफिक जाम र पैदल यात्रु दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।